कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु
गुलरिया । समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ । ’तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नु भयो।
प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि उम्मेदवार छान्न कांग्रेसलाई कठिन हुने देखिएको छ । एक पदाधिकारीका अनुसार एकै क्षेत्रका लागि २५ जनासम्मको नाम सिफारिस भएको छ । ‘केन्द्रले प्रत्यक्षतर्फ तीनजनाको नाम र समानुपातिकमा महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेको थियो,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘आएका विवरण हेरिरहेका छौँ । कति परे भन्ने टुंगो लागेको छैन ।’
कांग्रेसले स्थानीय तहमा उम्मेदवार भएको, ०७४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने मापदण्ड बनाएको छ । योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलन र पार्टीमा गरेको योगदान तथा पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई कांग्रेसले ध्यान दिने बताएको छ । यस्तै, उम्मेदवारबारे निणर्य गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिने मापदण्डमा उल्लेख छ ।
प्रतिनिधिसभा र प्रदेश सभामा हाल समानुपातिकबाट सांसद रहेका कांग्रेस नेताहरू पुनः समानुपातिकमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार हाल समानुपातिक सांसद रहेकाहरू पुनः समानुपातिकमै उम्मेदवार बन्न नपाउने भएका हुन् ।
कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा पार्टीकातर्फबाट समानुपातिक आधारमा यसअगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधिसभा र प्रदेश सभाको सदस्य पदमा पार्टीकातर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
त्यस्ता व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार भने हुन सक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो।
प्रतिकृया दिनुहोस्