February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

टीकापुर घटनाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

टीकापुर घटनाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

गुलरिया। प्रधानमन्त्री शेर बहादुर देउवाले टीकापुर घटनाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री देउवाले थारूहरूका माग मुद्दा सम्बोधनका लागि सरकारको तर्फबाट गृहमन्त्री खाणको नेतृत्वमा खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुनमन्त्री गोविन्द बन्दी, महान्यायाधीवक्ता खम्बबहादुर खाती र लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई खटाईएको छ। प्रधानमन्त्रीकै निर्देशनबमोजिम गृहमन्त्री खाणले शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीसँग छलफल गर्नु भएको छ। सभाका तर्फबाट भने उपाध्यक्ष देवीलाल चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यहरू रुक्मिणी चौधरी र प्रभात चौधरी रहनु भएको थियो।
तत्कालीन केपी ओलीको सरकार र सभाबीच गत २०७८ जेठ १८ गते ६ बुँदे सम्झौता भएको थियो। सरकारको तर्फबाट तत्कालीन कानुन तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको संयोजकत्वमा राजन भट्टराई र भगवती चौधरी सहभागी हुनु हुन्थ्यो भने सभाका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्दप्रसाद चौधरी रहनु भएको थियो।
थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा थारू कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइ गर्ने, आन्दोलनका क्रममा सहिद भएका परिवारलाई राहत उपलब्ध गराउने, घाइतेहरूको उपचार गर्ने, धनजन क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने, सम्मानित अदालतको फैसलाबमोजिम थारूहरूको आरक्षणको व्यवस्था गर्ने, प्राथमिक तहसम्म थारू मातृभाषामा पठनपाठन हुनपर्ने र थारूसँग गरिएका विभिन्न सम्झौताबमोजिम संविधान संसोधन छलफलका आधारमा गर्ने सहमति भएको थियो।