उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढे
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १८ सय २ जना उच्च ज्वरोका बिरामी उपचारका लागि पुगेका छन् । तीमध्ये १ सय ५१ जनामा डेंगु देखिएको छ । गम्भीर ३० जनालाई अन्यत्र पठाइएको छ । रक्तकोषिका कम भएका ४१ जना अस्पतालमै छन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकालले असार अन्तिम साता यता हनहनी ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर चिलाउने, शिथिल हुने लगायत लक्षणका बिरामी रूपन्देहीमा बढेको बताउनु भयो । ‘डेंगु ज्वरोले कम्तीमा एक हप्ता गाल्ने, छिटो निको नहुने र कमजोर बनाउने गरेको छ,’ उहाले भन्नु भयो।
असार १५ पछि तराईका जिल्लामा उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणले एकैघरमा अधिकांश थलिंदा पारिवारिक अवस्था बिजोगलाग्दो बनेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धेरै बिरामी बुटवल, तिलोत्तमा र सैनामैनाका छन् । सहरी क्षेत्रमा खाली तथा थोत्रा टायर र पानी जम्ने ठाउँ बढी भएका स्थानमा लामखुट्टे धेरै हुने भएकाले डेंगुको संक्रमण बढी भेटिएको छ । बिरामी निजी र सरकारी दुवैमा गएकाले कति बिरामी छन् भन्नेबारे यकिन तथ्यांकसमेत जिल्ला स्वास्थ्य कार्यालयमा नरहेको सूचना अधिकारी केदार शाहले बताउनु भयो। उहाका अनुसार स्थानीय अस्पतालहरूले परीक्षणका लागि किट मागिरहेका छन् । किट स्टक नहुँदा दिन नसकिएको उनले बताउनु भयो।
डेंगुको संक्रमणले बिरामीको प्लेटनेस ह्वात्तै घटाउँछ । प्लेटनेस ६० हजारभन्दा कम भएमा अन्य व्यक्तिको ताजा ह्वाइट ब्लड चढाउनुपर्छ । माग बढेपछि रक्त सञ्चार केन्द्रलाई ह्वाइट ब्लड खोज्न र पुर्याउन भ्याइनभ्याई छ । बुटवल रामनगरका ध्रुव आचार्यलाई १० दिनअघि हनहनी ज्वरो आयो । टाउको फुट्लाजस्तै दुख्यो भने कटकटी शरीर खायो । उनी स्थानीय सिद्धबाबा अस्पतालमा भर्ना भए । परीक्षणपछि डेंगु संक्रमण पुष्टि भयो । शरीरको प्लेटनेस अर्थात् रक्तकोषिका घटेर ४० हजारमा झर्यो । ६ दिनसम्म पनि निको नभएपछि थप उपचारका लागि काठमाडौं पुगेका छन् ।
उच्च ज्वरो आउने, वान्ता हुने र सहनै नसक्ने गरी जोर्नी दुखेपछि सैनामैना, मुर्गियाका रोशन अधिकारी ७ दिनयता लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । खाना खायो कि वान्ता हुँदा कमजोर बनेका उनमा पनि डेंगु संक्रमण देखिएको छ । रक्तकोषिका घटेर नियमित ह्वाइट ब्लड चढाइएको छ । ‘ज्वरोले यति गलायो कि बोल्न, उठ्न समेत नसक्ने भएको छु,’ उहाले भन्नु भयाे।
नेपाल रक्तदाता स्वयंसेवी समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले साउन सुरु भएपछि ताजा रगत बढी चाहिएकाले तत्काल रक्तदान गर्ने र रगत जुटाउने काममा समस्या भइरहेको बताउनु भयो । ‘दैनिक ३० जनासम्मलाई रगत दिनुपरेको छ,’ उहाले भन्नु भयो।
डेंगु एडिस एजेप्टाई र एल्वौपेक्टस नामक पोथी लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । उक्त लामखुट्टेले ‘ओ’ रगत समूह भएकालाई बढी र त्यसपछि ‘ए’ अनि ‘बी’ रगत समूहलाई निसाना बनाउँछन् । यसअघि वर्षा सुरु भएपछि लामखुट्टे नष्ट गर्न र डेंगु संक्रमण रोक्न स्थानीय तहहरूले लामखुट्टे खोज र नष्ट गर अभियान चलाउने गरेका थिए । लामखुट्टेका वासस्थान फाल्न सरसफाइ र विषादी छर्ने, विपन्नलाई झुल वितरण गर्ने गर्थे । यसपालि पनि जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहमा डेंगुविरुद्ध चेतना जगाउन बजेट गएको छ । तर, डेंगु नियन्त्रणको सरकारी अभियान ठप्प छ । यस्तोमा नागरिक स्वयंले घरवरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, पानीको ट्यांकीलाई छोपेर राख्ने, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा शरीर ढाक्ने गरी लुगा लगाउने, सुत्दा झुल प्रयोग गरेर लामखुट्टे बढ्न नदिने डेंगुको संक्रमणबाट बच्ने उपाय भएको चिकित्सकीय सुझाव छ । ‘लामखुट्टेको वृद्धि र फोहोर तथा टायरहरूको उचित व्यवस्थापन नहुँदा डेंगु ज्वरोका बिरामी थपिंदै गएका छन्,’ वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले भने, ‘यो क्रम कात्तिकसम्म रहन सक्छ ।’
प्रतिकृया दिनुहोस्