January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

मृत्यु जितेर फर्के पछि …………………………..- अन्जु गौतम ललितपुर -२४,धापाखेल

मृत्यु जितेर फर्के पछि …………………………..- अन्जु गौतम ललितपुर -२४,धापाखेल

सरी ! तपाईंको बिरामी तुरुन्त लैजानुहोस् हामी बचाउन सक्दैनौं । एक घण्टा भित्र कतै पुर्याउन सक्नु भयो भने केही मिर्याकल होला नत्र भन्न सकिन्न।” डाक्टरहरूले मेरो मामालाई भने। एकदमै छिटो छिटो बोलिरहेका थिए उनीहरु । सबै जना हतास देखिन्थे ।त्यो बेला मैले डाक्टर ले भनेको ‘मिर्याकल’ शब्दको अर्थ बुझिन तर मलाई लाग्यो उनीहरू भन्दै छन् कि म १ घण्टा भित्र मर्ने वाला छु ।मेरो मुटुमा अचानक करेन्टको झड्का हाने जस्तो भयो । तत् :पश्चात् कैयौ चलचित्रका जस्ता दृश्यहरु मेरो दिमागमा आय र विलाय। परिवार, स्कूल ,गाउँघर , साथीहरु, जङ्गलको खोला र मेरो गियरवाला साइकल ।मेरा आँखा खुला थिए तर वरिपरिका दृश्यहरु धूमिल हुँदै गैरहेका थिए अनि मेरा जीवनका सपनाहरु अदृश्य ।मेरो मस्तिकले भने सबै कुराको चाल पाइरहेको थियो।महेन्द्र अस्पताल दाङको आकस्मिक कक्षमा लागिएको थियो मलाई। तर डाक्टरहरुले भर्ना लिन मानेनन् ।मेरो शरीर पुरै लठ्ठ परेर पल्टिएको थियो – मुढो जस्तै । पेट पोल्थ्यो बान्ता आउने गरी । टाउको फनफनी रिंगाई रहेको थियो।धेरै कुराहरु भन्न मन थियो तर बोल्न सक्दिनथेँ। जिब्रोमा कुनै स्वाद थिएन । आँखा डम्म भरिएर पोखिएका थिए।डाक्टरहरु पनि मजबूर थिए सायद । नर्सहरु मायालु नजरले हेरिरहेका थिए मलाई । यौटीले मेरा आँखामा एक टकले एकछिन हेरिन्, मेरो कपाल अलिकति मुसारिन र बाहिर निस्किन।उनी आकस्मिक कक्षको ढोकाबाहिर पुगेर खै कसलाई भनिन् ” कस्ती गोरी, कति राम्री ! माया लाग्दी केटी -हे ! भगवान बचाउ । “नर्सले ‘कति माया लाग्दी केटी’ भनेको सुने पछि मलाई मेरो झन् धेरै माया लाग्यो ।हे भगवान बचाउ ! मलाई यो संसार हेर्न देऊ – भित्र भित्रै दाँत किटे मैले अनि ‘ म बाँच्छु जसरी पनि ‘ भन्ने अठोट दोहोर्याई रहे ।तर कसरी ? भगवान् सम्झेका डाक्टरले भगवान भरोसा छोडी दिएका थिए ।महेंद्र अस्पतालका डा. ले त्यो बेला एन्टी स्नेक भेनम नभयकोले भर्ना नै लिन नमानेका रहेछन्।तराई क्षेत्रमा पाइने अत्यन्तै विखालु प्रजातिको, स्थानीय भाषामा डुमिनि भनिने कोब्रा सर्पले टोकेको थियो मलाई ।आर्थिक, सामाजिक , प्रशासनिक सम्पूर्ण शक्ति लगाईएको थियो मलाई बचाउन। तर जब लड़ाई मृत्यु सँग होस् , कुन शक्तिको के तागत चलोस् ?मामा डा. भोला योगी , निकै दौडधुप गरिरहनु भएको थियो । अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो। म बेला बेला मामाको अनुहार हेर्थे पुलुक्क – ब्लर हुँदै गरेका आँखाहरूले ।लल्याक लुलुक् हुँदै गएको शरिर – मामालाई देख्दा भित्रै आत्माबाट शक्ति सञ्चार हुन्थ्यो । जीवनको आशा जाग्थ्यो।डाक्टरले सरी बचाउन सक्दैनौं भनी सक्दा पनि ।किनकी मामा सम्पूर्ण गाउँघरमा आशा र भरोसाको केन्द्र हुनुहुन्थ्यो / हुनुहुन्छ र मेरो लागि सुपर ह्युमन बिङ । गाउँघरमा हरेक आपत् /विपतमा सबै भन्दा पहिले सम्झने नाम थियो / छ – डा.भोला योगी ।मामाले मलाई सर्पले टोक्ने बित्तिकै कुम देखि हत्केलाको टोकेको भाग सम्म नयाँ ब्लेडले चिरेर नीलो बिष मिश्रीत रगत बाहिर बगाए पश्चात् तुरुन्तै दाजुहरुले मोटर साइकलमा हालेर महेन्द्र अस्पताल तर्फ कुदाईएको थियो मलाई ।कपाशी बगियाको बाटो धूलो उडाउँदै बिजुलीको गतिमा पर्साबाट घोराही तर्फ कुदेको थियो हामी चढेको मोटर साइकल । हाम्रा अगाडि पछाडि गाउँमा त्यो बखत उपलब्ध भए जति सबै मोटरसाइकलहरु स्कर्टिङ गरे जसरी कुदेका थिए ।मेरो मनमा कस्ता कस्ता  विचारहरु आई रहेका थिए । मोटरसाकल भन्दा पनि छिटो दगुर्दो रहेछ मन।म बाँचेर, फेरि त्यो बाटो फर्केर आउँदिन की जस्तो सोंच आउँथ्यो  मनमा – श्वास अड्किए जस्तो भैरहेको थियो । तर हजुरबुवाले भनेको वचन झर्लक्क सम्झन्थे ।उहाँले मलाई मोटरसाइकलमा चढाउँदै लाग्दा भन्नु भएको थियो , ” नातिनी नआत्तिनु , ‘ओम नमः शिवाय :  ‘मंत्र  जपिरहनु, तेरी हजुरआमाले देवताको थानमा बत्ती बालेकी छे जसले तेरो रक्षा गर्नेछ । कुनै पनि हालतमा आखाँ नचिम्लीनु ।  तेरो मामाहरुले तँलाई जसरी भए पनि बचाउँनेछन्। “बच्पनमा प्रार्थना कल्चर थियो हाम्रो घरमा, साँझ बत्ती बाले पछि प्रार्थना गर्नै पर्ने । ‘डूज यण्ड डन्स अफ लाईफ’ सुन्नै पर्ने । मेरो ध्यान भने प्रार्थना भन्दा पनि त्यस पछि बाँडिने प्रसाद र सुन्तला चकलेटमा मात्र हुन्थ्यो।बच्पनमा चकलेटको लागि अल्छि गर्दै गरेको प्रार्थना त्यस दिन भगवान सँग अर्ध मुर्छित अवस्थामा जिन्दगी माग्न खुबै मन लगाएर गरे मैले – ठूलो तागत हुँदो रहेछ प्रार्थनामा।अहिले सम्म पनि सम्झिदा मुटु नै चिसिने त्यो घटना घट्दा बर्खे छुट्टी मनाउन मामाघर, पर्सा दाङ मा थिए म । 5 बिगाहा क्षेत्रफलमा फैलिएको ठूलो फलफूलको बगैंचा सहितको मेरो मामाघर सारै रमाइलो ध्यानकेन्द्र / आश्रमजस्तो थियो । थरी थरीका फलफूलहरु लटरम्मै फलेका थिए । चम्पा चमेली फूलहरू को बास्नाले मगमग हुन्थ्यो साँझमा झन् ।प्रार्थना कक्ष छुट्टै थियो जहाँ प्राय विद्वानहरूको सभा भइरहन्थ्यो। हजुरबुवा चाहिँ प्राय जसो बालिष्ठमा अडेस लागेर पाहुनाहरु सँग जीवन दर्शनबारे प्रवचन दिईरहनु भएको हुन्थ्यो। स्वदेशी / विदेशी पाहुनाहरु, गाउँघरका मान्छेहरु, दुःखी / गरीब जस्का लागि पनि खुला हुन्थ्याे मामाघरको  प्रवेशद्वार।हजुर बुवाको प्रवचन सुन्नु पर्ला भन्ने डरले हामी बाख्रे केटाकेटी भने उहाँ सँग भागी भागी हिँड्थ्यौ ।श्रावणको त्यो महिना बिहानीको मन्द मन्द बतास सँगै लहराई रहेका बोटबिरुवा र परको धानखेत हेर्दै म भुई तल्लाको झ्यालको सरा समातेर गित गाईरहेकी थिए ।मामाहरु पर खेतमा रोपाइँ गरिरहनु भएको थियो ।जमिन्दारी निकै ठूलो हुन्थ्यो त्यो बेलामा । ५/७ घर रैतिका  सम्पूर्ण परिवार त्यही खेती किसानीको काममा मात्र व्यस्त हुन्थे ।घरमा सहयोगीको रूपमा राखिएका चौधरी बहिनीहरु र म मात्र थियौ। उनीहरू नै मेरा घनिष्ठ साथी हुन्थे। उनीहरू घर परिवार सरह थिए। सबै हामीसँगै स्कूल जान्थे । सँगै खेल्थे। सँगै सुत्थे । नेपाली ,थारु भाषा उत्तिकै धारा प्रभाह बोल्थे म।त्यो कहाली लाग्दो दिनको अघिल्लो दिन मात्र यौटी चौधरी बहिनीले , “डगरेमे सप्वा देख्नु बर, यु डाई री ! बर भारी रहे करिया लोठ I” ( बाटोमा सर्प देखें , ए आम्मा ! सारै ठूलो थियो । कालो सर्प ) भन्दै चिच्याउँदै घर आएकी थिई।अचानक उसले बर्णन गरेको जस्तै त्यो कालो सर्प कहाँबाट बिजुली चम्किए जसरी आयो कुन्नी । मेरो साहिली औंलामा झम्टेर फर्लक्क फर्कियो । त्यसको सेतो पेटको भाग टलक्क टल्कियो एकपटक त्यसपछि त्यो कतै बिलायो वायु बेगमा। यता मेरो संसारमा एकाएक ग्रहण लाग्यो ।कहिले काँही त लाग्छ जिन्दगी त यौटा संयोग मात्र हो । मृत्यु ले हामिलाई जहाँ तहीँ चिहाई रहेको हुन्छ ।मृत्यु शाश्वत सत्य हो । जीवनको अनिवार्य गन्तव्य हो । प्राकृतिक मृत्युलाई त सहर्ष स्वीकार गर्नुको विकल्प के नै होला र ?

विलियम सेक्सपियरका अनुसार, मानिसले यस जगतवाट बहिर्गमनलाई त्यसैगरी स्वीकार गर्नुपर्छ जसरी आगमनलाई गर्छ ।मृत्युका बारेमा गौतम वुद्धले भनेका छन् , “जो बुद्धिमानी छ ; ऊ मृत्युको भय देखि डराउदैन् सोही अनुसार आफूलाई तयार गर्छ। तिमी कसरी बाच्छौँ भन्दा तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ।”…
तर त्यो बेलाकी कक्षा ७ मा पढ्ने सानी केटी म, मेरो के तयारी होस् र मृत्यूका बारेमा ?
अस्पतालले बचाउन सक्दैनौ भनेर फर्काईदिए पछि मलाई बिष झारेर निको पार्ने मान्छेहरु कहाँ लगियो । भरतपुर रोड महेंद्र क्याम्पस नजिकै ।
चार जना दाजुहरू, जो त्यतिबेला ब्याचलर पढिरहनु भएको थियो – मान्छे रूपी भगवानहरु । तुरुन्तै खटिनु भयो मेरो उपचारमा ।
उहाँहरूले लगातार मेरो शरीर बाट 7 घण्टा बिष चुसे /झारे पछि मेरा आँखा खुल्दै गए। टाउको हलुका भयो । बिस्तारै टाढा टाढाका दृश्यहरु पनि उज्याला हुँदै गए । मेरो जीवन आकाश उघ्रियो।
घाम डुब्नै लागेको त्यो साँझ ,भर्खर उदाउँदै गरेको मायालु दिन जस्तो आशा अनि उत्साह बोकेर आयो । नयाँ जीवन पाए मैले ।
बाँचे पछि फेरि आफ्नै जिन्दगीको लयमा लहराएछु म । कहाँ हुनुहन्छ होला उहाँहरू आजभोलि ? ऋण तिर्न त के सकुला र म – जीवन दान दिनेहरुको ।
तर पनि भेट्न पाए एक पटक भगवान ढोगे जस्तो गरी ढोग्न मन छ ।
उपचार प्रतिको दृढ विश्वास र आत्मबल दरो भएकोले मात्र मलाई बचाउन सकिएको उहाँहरुको भनाई थियो ।
वास्तवमा जीवनको त्यो कहाली लाग्दो भोगाइमा मलाई मृत्यू सँग लड्न सक्ने साहस र आत्मबल भरिदिने काम मामाघरको हजुरबुवाले गर्नु भएको थियो ।
हजुरबुवा सँग धेरै लामो समय बिताउन त पाईएन तर जति पाईयो उहाँले गरेका कुराहरूको छाप जीवनभर रह्यो ।
मलाई अचम्म लाग्छ, त्यो बेला हजुरबुवामा चार्ल्स डार्विनको ‘सर्वाइभल अफ त फिटेस्ट’ थ्योरिको ज्ञान कहाँबाट आयो होला ? उहाँ शाहासिक कथाहरू सुनाउनु हुन्थ्यो । लियो टल्सटयका मैले धेरै पछि पढेका साहसिक  कथाहरू जस्ता कथाहरू सुनाउनु हुन्थ्यो ।
उहाँले मलाई त्यो बर्खे छुट्टीमा, खप्तड बाबा द्वारा लिखित यौटा पुरानो गाता भएको किताब, ‘विचार विज्ञान’ पढ्न दिनु भएको थियो। श्रावणको त्यो महिना फूलबारीमा आँप पाकेर पहेंलै थिए। आँपको रुखबाट भूईमा झर्ने फूर्सद पाएका बखत म त्यो ‘विचार विज्ञान’ पढ्थे ।
“परमात्माले मानिसलाई विचार–बल नामक एउटा अद्भुत वस्तु दिएको छ । सैकडौ मानिसहरुले यस बलद्वारा कठिनभन्दा कठिन कार्य गरिसकेका छन् । मृत्यु शैया बाट समेत फर्केका छन् ।”
नबुझी नबुझी पनि त्यो पुरै किताब पढ्दा यी लाईनले मेरो मुटु छोएको थियो ।
आफ्ना लागि भन्दा पनि भन्दा पनि हजुरबुवाको वचन राख्नको लागि र साथीहरुलाई गफ दिन मात्र पढेको त्यो किताबले मेरो मृत्यूसँगको लडाइँमा सञ्जिविनिको काम गर्यो ।

साच्चै विचार विज्ञानमा पढे जस्तै जस्तो सोच्यो उस्तै हुँदो रहेछ जीबन। विचार बल सबैभन्दा ठूलो शक्ति रहेछ – जसरी पनि बाँच्छु भन्ने अठोटले मृत्युको बाहुपासबाट पनि त फर्केर आईदो रहेछ ।
मृत्यु जितेर फर्कने लाई थाहा हुँदो रहेछ जीवनको मूल्य  कति हुन्छ ?
मृत्युको मुखमा परेर पनि चपाईन बाट बाँचेर फर्के पछि खै मलाई किन यस्तो लाग्छ ???
जस्तो कि प्रकृतिमा यी सारा सुन्दर फूलहरू मेरै लागि फुलेका हुन । यी सुन्दर गीतहरू कविताहरू सब मेरै लागि लेखिएका हुन ।
लियो नार्दाे दा भिन्चीहरु, पेब्लो पिकासोहरु मेरै सुन्दरताको वर्णन गरिरहेका होलान् ।
त्यसो त सबै कुराहरु सुन्दर मात्र कहाँ हुन्छन् र जिन्दगीमा  ?
सुन्दरता त आफैले देख्दै/ महशुस गर्दै हिड्ने कुरा रहेछ ।
श्रावण महिना फर्किएर फेरि फेरि आउँछ म सोच्छु – आँखाबाट दृश्यहरु हराउदै गईरहेको त्यो पल, मैले कसरी बन्द हुनै आँटेका यी मेरा आँखाहरू च्याती च्याती संसार हेर्ने कोसिस गरेकी थिए । किनकी मलाई थाहा थियो , त्यस बखत मैले आँखा चिम्लिएकी भए, क्षण भरका लागि पनि हिम्मत हारेकी भए मेरा यी सुन्दर आँखाहरू सदाका निम्ति बन्द हुने थिए ।
आज म यस संसारमा नरहेकी भए पनि त संसार यस्तै गतिमा चलिरहेको हुन्थ्यो। यो शान्त र मनमोहक जुनेली रात यस्तै हुन्थ्यो होला । रोमाञ्चक यो साझँ यस्तै हुन्थ्यो होला। यी चम्पा चमेली फूलहरूको मादक सुबास यस्तै हुन्थ्यो होला ।
आज म छु । मेरो अस्थित्व यस विराट प्रकृति सामु नगन्य यौटा परमाणु बराबर किन नहोस् ।
सकारात्मक सोच , बलियो इच्छा शक्ति / आत्मबल र निरन्तर प्रार्थना सामु सहयोगी भै दिदो रहेछ – सारा ब्रह्माण्ड ।
मलाई जीबन दान दिनेहरु प्रती , प्रेमील नजरले हेरी दिने हरु प्रती ,यो सुन्दर प्रकृति प्रती सदा आभारी रही रहने छु ।
विचार नै बल / शक्ति रहेछ – त्यो त हामी भित्रै पो रहेछ, जसले जीबन बाँच्दो रहेछ ।