प्रदेशमै उत्कृष्ठ बर्दिया अस्पतालबाट ९१ हजार बढीले सेवा लिए
गुलरिया । लगातार दुई पटक लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पताल घोषित बर्दिया अस्पतालबाट चालु आर्थिक बर्षको जेठ सम्ममा ९१ हजार बिरामीले ओपिडी सेवा लिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या कम भएपनि अस्पतालमा ९ हजार ५सय जनाले आकस्मिक सेवा र ३८०० जना भर्ना भएर उपचार सेवा लिएका छन् ।
बिहीबार अस्पतालले आयोजना गरेको सामाजिक परीक्षण तथा आम भेला कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुवास पाण्डेले पछिल्लो एक वर्षमा दिएको उपचार सेवाको बारेमा जानकारी गराउनु भएको हो।
अस्पतालमा आएर १ हजार ४५० जना सुत्केरी भएका छन् । ती मध्ये २४० जनाको शल्यक्रिया गर्नु परेको छ । एसएनसीयूमा ३०० जना नवजात शिशुलाई भर्ना भई उपचार सेवा दिईएको छ । यो अवधीमा ८० जनाको मेजर शल्यक्रिया गरिएको छ : अस्पताल प्रमुख पाण्डेले भन्नु भयाे।
बर्दिया अस्पतालमा हाइड्रोशीलको नि:शुल्क सर्जरी सेवा समेत उपलव्ध छ । यसवर्ष ९० जनाले सो सेवा लिएका छन् ।
मेसु डा पाण्डेले अस्पतालमा स्वास्थ्य बीमा आवद्ध भएका ३९ हजार नागरिकले उपचार सेवा लिएको बताउनु भयो।ओसीएमसीमा १५४ जना, एआरटी सेवा लिएका १४९ जना, ११ हजारले एक्सरे सेवा, ३ हजारले ईसीजी सेवा, १० हजारले युएसजी सेवा लिएको जानकारी दिनु भयो।
भेलामा डा पाण्डेले बर्दिया अस्पतालले जेरियाट्रिक सर्भिस, एसएसयू, डटस, कुष्टरोग, लगायतका सेवाहरु उपलव्ध गराएको बताउनु भयो । ५० शैयाको सो अस्पतालमा ५९ वटा दरबन्दी भएपनि ३२ जना मात्र कार्यरत छन् । हाल अस्पतालमा कर्मचारीको संख्या भने १०६ रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि बनेका बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले अस्पतालले दिएको सेवाको प्रशंसा गर्दै सेवालाई थप सहज र प्रभावकारी गराउन सुझाव दिनु भयो। उहाले स्थानीय तहबाट गर्नुपर्ने र गर्नसक्ने सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो।
अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले अस्पतालका पदाधिकारीसंग जिज्ञासा राख्ने र सुझाव दिने समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्