February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कांग्रेसकी नेत्री पुष्पा भुसाल उप सभामुखमा निर्वाचित

कांग्रेसकी नेत्री पुष्पा भुसाल उप सभामुखमा निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो। उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।

भुसाललाई सत्ता गठबन्धनको साथ थियो। भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी हुनुहुन्थ्यो।

नेपाली कांग्रेसकी नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो। यसअघि उहाँ तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्नुहुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो। २०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो। तुम्बाहाङ्फेले राजीनामा दिनुभएको करिब साढे दुई वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो।

नेपाली कांग्रेसकी नेत्री भुसालसँग लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभव छ। वरिष्ठ अधिवक्तासमेत रहनुभएका भुसालले समाजशास्त्रमा एमफिल गर्नुभएको छ।  भुसाल विद्यार्थी कालमै पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा सहभागी भएर राजनीतिमा लाग्नुभएको हो। उहाँ वि.सं. २०२८ पछि राजनीतिक आन्दोलनमा सक्रिय हुनुभयो। २०४६ सालको आन्दोलनबाट उहाँले राजनीतिमा पहिचान बनाउनुभयो। त्यसपछि उहाँ निरन्तर महिला आन्दोलन र सामाजिक आन्दोलनमा सक्रिय हुनुहुन्छ।