February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ।
कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले  मिडिया साक्षरता, संचार नीति, लगायतका विभिन्न विषयमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुनु पर्ने उल्लेख गर्नु भयो । उहाले हरेक नागरिकले सूचना प्रवाह गर्ने काम गर्न सक्छन् तर यसलाई नागरिक पत्रकारिता भन्न नसकिने बताउनु भयो।उहाले पत्रकारिता हुनका लागि तोकिएका मापदण्ड पालना गर्नुपर्ने बताउदै पत्रकारिता निश्चित नीति, नियम, आचारसंहिता र सिद्धान्त, पत्रकारिताको धर्म र परम्पराका आधारमा चल्ने हुँदा समाचारका आधारभूत तत्वहरुको खोजी गर्न जरुरी रहेको उल्लेख गर्नु भयाे। कार्यक्रमको अध्यक्षता गर्नु भएका  लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिता क्षेत्रमा टिकिरहने वातावरण आफैले निर्धारण गर्नु पर्ने बताउँदै आम संचार नीति अवलम्बन गर्दै समाचार संकलन गर्नु पर्ने बताउनु भयो।   अनलाइन लगायतका पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको र सो समूहलाई मिडिया साक्षरता, आचारसंहिता लगायतका विषयमा मीडिया साक्षरता कार्यक्रम बढाउनु पर्ने बताउनु भयो।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषध्यक्ष यम नाथ  घिमिरेले अनलाइन लगायतका पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको र प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी ती समूहलाई मिडिया साक्षरता, आचारसंहिता लगायतका विषयमा साक्षरता कार्यक्रम बढाउन आफूहरु लागि परेको बताउनु भयो। उँहाले मिडियाकर्मी र गैर मिडियाकर्मी सरोकारवाला निकाय सबैमा मिडियामा पहुंच, विश्लेषण, मूल्यांकन र मीडिया सामाग्री उत्पादन गर्ने क्षमता, ज्ञान, सीप र दक्षता हुनु मीडिया साक्षरता रहेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथी   कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सञ्चार माध्यमलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैले ध्यान दिनुपर्ने बताउँदै मिडिया साक्षरताको लागि पर्याप्त स्रोत/साधन उपलब्ध गराई आफूले लेखेको  लेख र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी  लिन स्वयम् मिडियाकर्मिले नै लिन  सक्नुपर्ने बताउनु भयो। नगर प्रमुख आचार्यले पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र उनीहरुले लेखेका लेख समाचार  स्वतन्त्र हुन सक्ने भन्दै दबाब र प्रभावमा मिथ्या समाचार नभई सत्य, तथ्य, सन्तुलित समाचार प्रकाशन र प्रसारण गर्न सुझाव दिनु भएको छ।
कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले मिडियाको आधिकारिकता र बिश्वसनीयता केलाउन नसक्दा नागरिक सही सूचनाबाट टाढिएका बताउदै पत्रकारिता क्षेत्रमा महिलाको प्रोत्साहनका लागि महिला उत्तरदायी सञ्चार नीति नगरपालिकाले प्राथमिकतामा पारेको बताउनु भयाे।    बैबाहिक अवस्था  पछि पत्रकारिताबाट पलायन भैरहेको हुँदा  महिला  पत्रकारलाई पत्रकारितामा  लागिरहन प्रोत्साहन  गर्दै  पत्रकार महिलाको लागि कोहलपुर नगरपालिकाले विशेष कार्यक्रम ल्याउने उप प्रमुखको भनाई छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐन  बहादुर मल्लले कोहलपुरमा  प्रहरी शान्ति, सुरक्षा, अमनचयन कायम गर्न अहोरात्र खट्दै जनताको जनधनको क्षति हुनबाट जोगाउन सक्रिय रहको उल्लेख गर्दै उनले नेपाल प्रहरीले र पत्रकारसँग साझेदारी तथा समन्वयकारी तवरले काम गर्दै आएको बताउनु भयो।  प्रहरी र पत्रकारबीच विभिन्न क्रियाकलापमार्फत आपसी समझदारी कायम गर्दै साझेदारीको अवधारणा अभिवृद्धि गर्दै लैजाने उहाको भनाई छ।
कार्यक्रममा नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हेमन्त बि.क., प्रेस सेन्टरका डक्ट प्रसाल धिताल, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले मन्तव्य राख्नु भएको थियो।   मिडियाकर्मी  र सरोकारवाला निकायका कर्मचारी गरी  ६० जनको सहभागीता रहेको सो   कार्यक्रमको संचालन  पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव जयसिङ के सीले गर्नु भयो र धन्यवाद ज्ञापन महासंघका  सदस्य आरिफ अन्सारीले गर्नु भयो।