बर्दियामा पाँच स्थानीय सरकारमा कांग्रेसको नेतृत्व कायम
गुलरिया । बर्दियामा आठ पालिका मध्ये पाँच पालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ। गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिकामा र गेरुवा गाउँपालिकामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ। बाँसगढी नगरपालिकामा एमाले र राजापुर नगरपालिकामा माओवादी केन्द्रले चुनाव जितेका छन् । मधुवन नगरपालिकामा नेपाली कांग्रेसका सन्त नेता तेज बहादुर भाट नगर प्रमुखमा र अनिता चौधरी उप प्रमुखमा निर्वाचित हुनु भएको छ। गुलरिया नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । नगर प्रमुखमा मुक्तिनाथ यादव पुनः दोहरिनु भएको छ भने उप–प्रमुखमा गुलरिया नगरपालिका–५ की निर्वतमान वडा अध्यक्ष सावित्रा गौतम निर्वाचित हुनु भएको छ ।
नगर प्रमुखमा विजयी भएका यादवले ७ हजार ९ सय ८९ मत प्राप्त गर्नु भएको छ भने उँहाको निकटतम प्रतिस्पर्धी एमालेका अमर खड्काले ७ हजार ८ सय ११ र माओवादी केन्द्रका गेहेन्द्र ढकालले ५ हजार १० मत पाउनु भएको छ।
त्यसैगरी उप–प्रमुखमा विजयी हुनु भएकी गौतमले ८ हजार २ सय ७ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी टिका समसेली मगरले ७ हजार ४ सय ६२ र माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ४ हजार ३९ मत पाउनु भएको छ ।
गुलरिया नगरपालिकाको वडा नम्बर १,४,६ र ७ मा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर २,३ र ५ मा एमालेले र वडा नम्बर ८, ९ र १२ मा माओवादीले, वडा नम्बर ११ मा जनता समाजवादी र वडा नम्बर १० को वडा अध्यक्षमा जनमत पार्टीले जित निकालेको छ । ठाकुरबाबा नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सहसचिव तिलक राम लम्साल र उप प्रमुखमा ने क पा एमालेकी बिना भट्टराई निर्वाचित हुनु भएको छ।
राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका छन् । नगर प्रमुखमा दिपेश थारु र उप–प्रमुखमा मनकला कुमारी चौधरी विजयी हुनु भएको छ।
लुम्बिनी सांसद पदबाट राजीनामा दिई नगर प्रमुख पदमा लडनुु भएका थारु विजयी हुनु भएको हो । उप–प्रमुखमा चौधरी दोस्रो कार्यकालको लागि पुनः दोहोरिनू भएको छ। माओवादी केन्द्रबाट नगर प्रमुख थारुले ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी हुनु भएको छ। थारुको प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक जङ्ग शाहले ९ हजार ७ सय ६० र एमालेका पहारी चौधरी ६ हजार ७२ मत पाउनु भएको छ।
त्यसैगरी उप–प्रमुखमा चौधरीले १० हजार ८६ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ । उहाँको प्रतिस्पधी काँग्रेसकी यसोदा थारूले १० हजार ४५ र एमालेकी सावित्री शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत पाउनु भएको छ।
गेरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ । अध्यक्षमा जमान सिंह केसी र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्वाचित हुनु भएको छ।
अध्यक्षमा केसी ७ हजार ६ सय ९८ मतसहित निर्वाचित हुँदा उहाका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वबहादुर थारुले ६ हजार ६ सय २० मत पाउनु भएको हो। एमालेका उम्मेदवार भरतबहादुर धामीले १ हजार ८ सय ५१ मत पाउनु भयाे।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी लक्ष्मी कुमारी चौधरी ७ हजार १ सय ५३ मतसहित निर्वाचित हुनु भयो । माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५ सय ८३ मत पाउँदा एमालेकी मञ्जु शर्माको पक्षमा २ हजार २ सय ४३ मत परेको छ ।
बाँसगढी नगरपालिका प्रमुख, उप–प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनु भएको छ। नगर प्रमुखमा एमालेका खड्ग बहादुरले १० हजार ६१ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका प्रतिद्वन्दी माओवादीका भवन कुमार थारुले ८ हजार ५ सय ७७ र कांग्रेसका सविन कुमार थारुले ६ हजार ७ सय ११ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै उप–प्रमुखमा पनि एमालेकी इन्दिरा चौधरी विजयी हुनु भएको छ । उहाँ ९ हजार ६ सय ९९ मत ल्याएर विजयी हुनु भएको हो। उहाको प्रतिद्वन्दी माओवादीका भोमी बिटालुले ७ हजार ४ सय ३६ र कांग्रेसका आकाश थारुले ७ हजार १ सय ५१ मत प्राप्त गर्नु भएको छ।
माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ। नगर प्रमुखमा छबिलाल थारु र उप–प्रमुखमा रत्न कुमारी पाण्डे निर्वाचित हुनु भएको छ। ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले नगर प्रमुख र उप–प्रमुखमा जित निकालेको थियो । यस पटक माओवादीको गणमा काँग्रेसले जित निकाल्न सफल भएको छ ।
काँग्रेसबाट नगर प्रमुखमा निर्वाचित थारुले १३ हजार ६ मत पाएर निर्वाचित हुनु भएको छ। थारुको प्रतिस्पर्धी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३ सय ५१ र माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुले ९ हजार १ सय ९ मत प्राप्त गर्नु भएको छ। त्यसैगरी उप–प्रमुखमा १२ हजार ४ सय ९१ मत प्राप्त गरी काँग्रेसबाट पाण्डे निर्वाचित हुनु भएको छ। उहाको प्रतिस्पर्धी एमालेकी नारायणी चौधरीले १० हजार ८ सय ५५ र माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत प्राप्त गर्नु भएको छ।
बारबर्दियाको ११ वडा मध्ये ६ वडामा नेपाली काँग्रेस, ३ वडामा नेपाल कम्युनिष्ट पार्टी र २ वडामा माओवादी केन्द्रले वडा अध्यक्षमा जित निकालेको छ । माओवादीले यस पटक बारबर्दियामा आफ्नो बिरासत जोगाउन सकेन । माओवादीको गण बारबर्दियामा माओवादीले तेस्रो स्थान प्राप्त गरेको छ ।
मधुवन नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा तेज बहादुर भाट र उप–प्रमुखमा अनिता चौधरी निर्वाचित हुनु भएको छ। काँग्रेसका भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाको प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मि प्रसाद शर्माले ७ हजार ९ सय ३१ मत पाउनु भएको छ। त्यसैगरी काँग्रेसकी उप–प्रमुख चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी हुनु भएको छ। उहाको प्रतिस्पर्धी माओवादी केन्द्रकी शुभद्रा थारुले ७ हजार ८ सय ९९ मत पाएकी छन् ।
प्रतिकृया दिनुहोस्