September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

लुम्बिनी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने हुन सकेको छैन । लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति भइसकेको गठबन्धनको प्रदेश स्तरीय संयन्त्रका संयोजक अमरसिंह पुनले बताउनु भयो।
काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले भने, ‘पूर्वी रुकुमबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति भएको छ ।’
गठबन्धनबीच चुनावी तालमेल गरेर जाने सहमति अनुसार जिल्ला र पालिकामा गृहकार्य भइरहेको उनले बताए । तर नेकपा एकीकृत समाजवादीलाई चुनावी तालमेलमा समेट्ने सन्दर्भमा समस्या देखिएको पुनको भनाइ छ । यस्तै उनले गठबन्धनका दलनै मुख्य प्रतिस्पर्धी रहेको ठाउँमा स्वस्थ प्रतिस्पर्धा गरेर जाने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाले भने, ‘गठबन्धनका दलबीच प्रतिस्पर्धा पनि सहमतिमै गरौँ भन्ने छलफल चलिरहेको छ । गठबन्धन दलबीचमै मुख्य प्रतिस्पर्धा हुने ठाउँमा नयाँ शक्ति जन्मन नदिने कि भन्नेबारे संवाद भइरहेको छ ।’
आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी मोर्चा बनेको हो ।
पाँच दलीय गठबन्धनले अधिकांश जिल्लामा चुनावी तालमेल गर्ने निश्चित भएको छ । चुनावी तालमेलका लागि कर्णाली प्रदेशका ७, लुम्बिनी र गण्डकी प्रदेशका एक–एक जिल्लामा मात्र सैद्धान्तिक सहमति हुन बाँकी छ । तर पालिकागत भागबण्डा भने गुल्मीमा मात्र मिलेको छ । बाँकी जिल्लामा सैद्धान्तिक सहमतिलाई कार्यान्वयनमा लैजानमा गठबन्धन दलको केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा घनिभूत छलफल भइरहेको छ ।