शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका
बार बर्दिया । बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको छ । थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको छ । चालू आवमा भने घटाएर २३ प्रतिशत छुट्याएको छ । यसै वर्ष संघले शिक्षामा ११ प्रतिशत मात्रै बजेट राखेको छ ।
बारबर्दिया २८ असार ०७५ मै अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषित भएको थियो । अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको देशकै यो पहिलो नगरपालिका हो । दक्ष जनशक्ति उत्पादनका लागि भन्दै ‘जनतासँग मेयर’ कार्यक्रमअन्तर्गत नगरपालिकाले एमबिबिएस, सिए, इन्जिनियरिङलगायत विषयमा हरेक वर्ष एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्दै आएको मेयर थारूले बताउनु भयो । अन्य विषयमा पनि प्रत्येक वर्ष ५० जनालाई छात्रवृत्ति दिने गरेको उहाको भनाइ छ । अभिभावक गुमाएका बालबालिकालाई लक्षित गरी ‘बाल संरक्षण कोष’मार्फत शिक्षा दिइरहेको छ । त्यस्ता २२ बालबालिकाले खाने–बस्नेसहित पढाइको सुविधा उपभोग गरिरहेका छन् ।
सहिद विष्णुधनी स्मृति बहुप्राविधिक शिक्षालय स्थापना गरेर नगरपालिकाले फरेस्ट्री कार्यक्रम चलाइरहेको छ । स्वास्थ्यका पाँच विषयका लागि सिटिइभिटीबाट सम्बन्धन लिने प्रक्रिया भइरहेको छ । ‘१० वर्षे शिक्षा क्षेत्र योजना कार्यक्रम पनि अघि बढाएका छौँ,’ मेयर थारूले भन्नु भयो, ‘ शिक्षामा क्रान्ति ल्याउन लागिपरेका छौ। १० वर्षमा बारबर्दियाको शिक्षा कहाँ पुग्छ भनेर हामीले परिकल्पना गरेका छौँ ।’
प्रतिकृया दिनुहोस्