May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

प्रधान सेनापति शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

प्रधान सेनापति  शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सेनापति शर्मा भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत जानुभएको हो ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई भोलि बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ।