December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन सरकारले ५० हजार दिने

घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन सरकारले ५० हजार दिने

गुलरिया। सरकारले बाढीपहिरोका कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । साथै घाइतेकाे निःशुल्क उपचार गर्ने भएकाे छ ।
बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र साेभन्दा बढीकाे मृत्यु भएकाे भए प्रति मृतक एक लाखका दरले थप सहयाेग गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाणले  बैठकपछि जानकारी दिनुभयो ।
गृहमन्त्री खाणका अनुसार घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्ण पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
त्यस्तै घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रूपियाँ र पछि घर निर्माणका हिमाली भेगमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रूपियाँ उपलब्ध गराउने निर्णय भएकाे छ । साथै जग्गा जमिन नभएकाहरूकाे हकमा जमीन खरिदका लागि प्रतिपरिवार तीनलाख रूपियाँ उपलब्ध गराउने वा सामूहिक घरकाे व्यवस्था गर्ने भएकाे छ ।
यसैगरी उद्भार कार्यका लागि निजी क्षेत्रका हेलिकाेप्टर पनि प्रयाेगमा ल्याउने निर्णय भएकाे मन्त्री खाणले पत्रकारहरूलाइ जानकारी गराउनुभयाे ।