December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

बर्दिया । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेसले बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिनु भयो। ‘सबै वडामा मतदान अधिकृतहरु पुगिसकेका छन् ।
सहमतिबाटै अधिवेशनको वातावरण तयार गरी निर्वाचन प्रक्रिया अघि बढाएका छौँ,’ यादवले भन्नु भयो, ‘बेलुकासम्म धेरै ठाउँमा वडा कार्यसमितिले नयाँ नेतृत्व पाइसक्छन् ।’ वडा अधिवेशनमा वडा सभापति, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन हुन्छ । यसपटक भने अधिकांश ठाउँमा नेतृत्व चयनका लागि चुनावै हुने अवस्था रहेको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आˆनो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।क्रियाशील सदस्यको नामावली तयार नभएका बाँकी जिल्लामा पनि क्रमशः अधिवेशन हुने केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिनुु भयो । ‘विवादको समाधान भइसकेको छ । अब अन्तिम नामावली तयार गर्ने काममात्रै बाँकी हो,’ उँहाले भन्नु भयो, ‘अब हामीले सार्वजनिक गरिसकेको कार्यतालिकामा असर नपर्ने गरी अधिवेशनको प्रक्रिया अघि बढ्छ ।’ कांग्रेसले पालिका तहको अधिवेशन ९ असोजका लागि तोकेको छ । कांग्रेसले प्रदेश २ का आठ वटै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको नामावली तयार गर्न सकेको छैन् । वडा अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलाग्दा यसअघि यी जिल्लाको अधिवेशन हुन सकेको थिएन । अझै १३ जिल्लामा क्रियाशील सदस्यको नामावली तयार भइसकेको छैन्।