December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

धान बाली जोगाउन छिमेकीले थापेको विद्युतीय तारमा करेन्ट लाग्दा बर्दियामा एकै घरका ३ को मृत्यु

धान बाली जोगाउन छिमेकीले थापेको विद्युतीय तारमा करेन्ट लाग्दा बर्दियामा एकै घरका ३ को मृत्यु

ठाकुरबाबा । जंगली बंदेलबाट धान बाली जोगाउन छिमेकीले थापेको विद्युतीय तारमा करेन्ट लाग्दा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै घरका ३ जनाको ज्यान गएको छ ।
शुक्रवार राती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बंदेल धपाउन धान खेतमा लगाएको विद्युतिय तारमा करेन्ट लाग्दा एकै घरका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय वृद्ध राज बहादुर शाही (क) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । धान खेतमा बंदेलका लागि थापेको विद्युतिय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाए लगत्तै खेतमा विद्युत प्रवाह गरेका वृद्ध आफैले घरपरिवारमा जानकारी गराएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
धानबालीमा जंगली हात्ती, बंदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै बेला बेलामा करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि २ वटा जंगली हात्ती र १ जना युवाको ज्यान गएको थियो ।
यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएका जंगली हात्तीले ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा धानबालीमा क्षती गरेको छ । शुक्रबार राती धनखेतमा आएका ६ वटा जंगली हात्तीले तल्लो गोदाना गाउँमा धानबालीमा क्षती पुर्याएको स्थानीय टिका बिकले जानकारी दिनुभयो ।
जंगली हात्ती गाउँमा प्रवेश गरेको र धानबालीमा क्षती पुर्याउन थालेको भन्दै स्थानीयले निकुञ्जमा खबर गरेपछि जंगली हात्ती धपाउन निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको टोली विहान ४ बजेतिर गोदाना गाउँमा पुगेर हात्ती धपाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनु भयो।