May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

खातामा बाघ संरक्षणका लागि स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग गर्नुपर्ने              

खातामा बाघ संरक्षणका लागि स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग गर्नुपर्ने              

खाता । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले  वनमा निर्भर समुदायलाई प्रवेशमा रोक लगाउनु भन्दा स्थानीयदेखि संघीय सरकारसम्मले जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने बताउनु भएको छ।  बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोड्ने  बर्दियाको खाता जैविक मार्ग (करिडोर) भएर अन्य साना वन्यजन्तु पनि प्रशस्तै आउजाउ गर्छन्, तर प्रमुख रूपमा बाघ, गैंडा र हात्तीहरूले खाता करिडोर प्रयोग गरिरहेको उँहाको भनाई छ।  बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग दुई संरक्षित क्षेत्रका बाघ, हात्ती, गैंडा जस्ता ठूला तर लोपोन्मुख जनावर आवतजावत गर्ने मार्ग यही हो।
भारतबाट आएको हात्तीको झुण्ड यही करिडोर हुँदै आएकै बाटो भारत फर्किएको थियो। “मानिस-बाघबीचको द्वन्द्वले संरक्षणमा चुनौती थपेको छ। यो चुनौती चोरी शिकार भन्दा बढी छ। त्यसैले संरक्षणका कार्यक्रमलाई यस्तो द्वन्द्व कम गर्न केन्द्रित गर्नुपर्छ,” उँहाको भनाई छ ।   राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख कडरियाले स्थानीय समुदाय घाँस-दाउरा तथा च्याउ, निगुरो जस्ता तरकारीका लागि समेत जंगलमा निर्भर रहेकाले जीविकोपार्जनको वैकल्पिक उपाय नभएका संरक्षण क्षेत्रमा बस्ने मानिसलाई बाघ संरक्षणका नाममा जंगल जान रोक लगाउन नमिल्ने बताउनु हुन्छ ।   बाघ संरक्षणका लागि वनमा रहेको स्थानीय समुदायको निर्भरतालाई वैकल्पिक उपायबाट सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उँहाको भनाई छ।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता एवम् लक्ष्य पूरा गर्दैछ तर वन्यजन्तुको अन्तरदेशीय आवागमनका लागि नमूना संरक्षित क्षेत्रका रूपमा ख्याति पाएको बर्दियाको खाता जैविक मार्ग स्थानीय बासिन्दाका लागि भने ज्यानकै जोखिम बनेको मधुवन नगर प्रमुख गणेश बहादुर के सी बताउनु हुन्छ। संरक्षणको क्षेत्रमा यसरी योगदान गरेको यो करिडोरमा पछिल्लो समय बाघको आक्रमण बढेसँगै स्थानीयवासी असुरक्षित बनेको उँहाको भनाई छ।”स्थानीय समुदायलाई सहभागी नगराएसम्म संरक्षण सफल नहुने नगर प्रमुखको भनाई छ।
सन् २०२१ को गणनामा बर्दियामा ३८ वटा गैंडा पाइएका छन्। त्यस्तै, त्यहाँ १२० वटा जति जंगली हात्ती भएको अनुमान गरिएको छ। कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीमा शुरूमा गैंडाको वासस्थान थिएन। अहिले भारतीय संरक्षणकर्मीहरूले त्यहाँ चार वटा गैंडा भेटेको आफूहरूलाई बताएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख रविन कडरिया सुनाउनु हुन्छ।
“त्यसको अर्थ त्यहाँ नेपालबाटै गैंडाहरू पुगेका हुन्। कुनै जनावर आउजाउ गर्छन् भने कुनै उतै पनि बस्न सक्छन्। खाता करिडोरमा हामीले बाघका क्रियाकलाप अनुगमन गर्न स्वचालित क्यामेरा राखेका थियौं, तिनमा कम्तीमा पाँच वटा बाघ आउजाउ गरिरहेका पायौं,” कडरियाले भन्नु भयो, “करिडोरले वन्यजन्तुलाई बाटो मात्रै उपलब्ध गराएको छैन, यता र उताका वन्यजन्तुबीचको सम्बन्धबाट नयाँ सन्तान जन्मने कारण जैविक रूपमा पनि विविधतापूर्ण हुन पाएको छ। संरक्षणका लागि यो ठूलो उपलब्धि हो।”
यसरी करिडोरले वन्यजन्तुका सन्तानमा अनुवांशिक ह्रास हुनबाट जोगाएको छ। जसले गर्दा वन्यजन्तुका भावी पुस्ता पनि प्रकृतिसँग जुध्दै बाँच्न सक्ने गुणहरू लिएर जन्मिनेछन्।
बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा बाहिर पर्ने खाता करिडोर संरक्षित वनको रूपमा छ, जसको व्यवस्थापन डिभिजन वन कार्यालय बर्दियाले गर्दै आएको छ। स्थानीय समुदायले पनि खाता संरक्षण समिति गठन गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा जैविक मार्ग घोषणा गर्नसक्ने व्यवस्था छ। पुरानो वन ऐनमा संरक्षित वनका रूपमा घोषणा गर्नसक्ने व्यवस्था भए बमोजिम सन् २०१० मा खाता करिडोर घोषणा गरिएको थियो। यद्यपि नेपाली कानूनले करिडोरलाई छुट्टै रूपमा चिन्दैन।
करिडोरलाई पूर्व-पश्चिमको हुलाकी सडकले काटेको छ। जसले गर्दा वन्यजन्तुको उत्तर-दक्षिण आवागमनमा बाधा पुगेको छ। वन्यजन्तुको सघन आवतजावत हुने मधुवन-३ मा वन्यजन्तुका लागि ४५ मिटर चौडाइको आकाशे पुल प्रस्ताव गरिए पनि निर्माण कार्य शुरू गरिएको छैन। खाता करिडोरमा सन् १९९३ देखि २०१३ को २० वर्षको अवधिमा बाघको आक्रमणबाट जम्मा तीन जनाको ज्यान गएको थियो। तर, सन् २०१९ यता मात्रै सात जनाको ज्यान गइसकेको छ। २०२१ फेब्रुअरीमा प्रकाशित जर्नल लेख कम्प्लेक्स कन्सिक्वेन्सिस् अफ कन्जरभेसन सक्सेस: इमर्जिङ ह्युमन-टाइगर कन्फ्लिक्ट इन नेपालमा संरक्षणकर्मीहरूले बर्दिया-बाँके कम्प्लेक्समा अहिलेको स्तरको द्वन्द्व जारी रह्यो र मानवीय क्षति कम गर्न समयमै ध्यान दिइएन भने बाघ संरक्षणमै ठूलो जोखिम निम्तिने चेतावनी दिएका छन्।
सन् २०१६ को अक्टोबरमा क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको लेख आर करिडोर गुड फर टाइगर बट ब्याड फर पिपुल ? एन एसेसमेन्ट अफ द खाता करिडोर इन लो ल्यान्ड नेपालमा भने लेखकहरूले करिडोर स्थानीयवासीका लागि समस्याग्रस्त नभएको निष्कर्ष दिएका थिए। यद्यपि, करिडोर क्षेत्रमा भइरहेका पछिल्ला आक्रमण र मानिसहरूको मृत्युले भने त्यस्तो निष्कर्षलाई चुनौती मात्रै दिंदैनन्, बाघ संरक्षणको मोडालिटीमै प्रशस्त प्रश्न उठाउँछन्। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले सन् २०१८ पछि बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम पनि तीव्र भएको छ। अन्यत्र पनि रहेको आक्रमणको यस्तो तीव्रता खाता करिडोरमा अझ बढी छ। पूरै बाँके-बर्दिया क्षेत्रमा भएको क्षतिको एक तिहाइ एउटै नगरपालिकाभित्र पर्ने यो करिडोरमा भएको छ। नेपालमा सन् २००९ मा १२१ वटा बाघ पाइएकोमा २०१८ मा २३५ वटा पुगेका छन्।  सन् २०१८ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ८७ वटा बाघ पाइएका थिए। त्यस्तै, भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीमा २८ वटा बाघ भेटिएका थिए। तीमध्ये कतिपय बाघ खाता करिडोर हुँदै नेपाल-भारत गरिरहन्छन्।  जसले अन्तत: बाघ जस्तो लोपोन्मुख वन्यजन्तुकै संरक्षणमा चुनौती थप्छ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, सन् २०१९ यता बाँकेदेखि कैलालीसम्म बाघको आक्रमणबाट २३ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेमा दुई जना र कैलालीमा एक जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका हुन्। यस्तै, बर्दियाका २० जनामध्ये सात जना खाता करिडोरका हुन्। रेनुका सुनार, दिनेश थारू र रमेश थारू बाहेक पनि यो करिडोरमा पर्ने मधुवन नगरपालिकाका विशाल ओली, चित्रबहादुर केसी, नन्दकला थापा क्षेत्री र गंगा खत्री बुढालाई बाघले मारेको छ।