गृह लगायत १० निकायका सचिवको सरुवा
गुलरिया । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो ।
जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृहका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वेगेन्द्रराज शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा लगिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव किरणराज शर्मालाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका रामप्रसाद घिमिरेलाई प्रदेश १ को प्रमुख सचिवमा र कृष्णहरि पुस्करलाई प्रदेश २ को प्रमुख सचिवमा सरुवा गरिएको छ ।
यस्तै प्रदेश १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा र प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयमा अनुसार प्रदेशमा रहेका अन्य केही सचिवलाई पनि केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्