May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय

स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय

प्युठान । नेपाली तथा भारतीय भक्तजनको संख्या बढ्न थालेपछि स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले संक्रमण फैलने जोखिम भएपछि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो। भारतमा नयाँ भेरिएन्टका बिरामी थपिइरहेको र स्वर्गद्वारी आउने भक्तजनले संक्रमण फैलाउने डर पनि उच्च रहेको उँहाले सुनाउनु भयो। ‘स्वर्गद्वारी आउने भक्तजनले सुरक्षा सावधानीलाई पालना गरेको पाइँदैन,’ प्रजिअ भुसालले भन्नु भयो, ‘यसले समुदाय स्तरमा पनि जोखिम बढाउने त्रास बढेपछि आवतजावत रोकिएको हो ।’
स्वर्गद्वारीमा दैनिक सयौं भारतीय मन्दिर दर्शनका लागि आउने गरेका छन् । विशेष गरी साउने सोमबारका दिन स्वर्गद्वारीमा भारत उत्तर प्रदेशका भक्तजनको भीड लाग्ने गर्छ । ‘सावधानी नअपनाउँदा पहिले पनि नगरपालिका जोखिममा परेको थियो,’ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले भन्नुभयो, ‘अहिले पनि अवस्था त्यस्तो नहोला भन्न सकिँदैन ।’
कोरोनाको दोस्रो लहरमा प्यूठानमा सबैभन्दा धेरै स्वर्गद्वारी नगरपालिका प्रभावित भएको थियो । उहाका अनुसार भारतबाट आएका भक्तजनको भीड स्थानीय बजारमा लाग्ने र संक्रमण बजार हुँदै गाउँसम्मै फैलने भएकाले सर्वसाधारणका लागि मन्दिर प्रवेश र पूजाआजा गर्न रोक लगाइएको हो । भक्तजनको भीडभाड केही दिनयता अलिक बढेको स्वर्गद्वारी आश्रमका कोषाध्यक्ष वासुदेव भट्टराईले बताउनु भयो । आश्रममा अहिले करिब दुई सयको संख्यामा पुजारी र कामदार छन् ।