पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु
गुलरिया । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो ।
आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको छ ।
बुद्धले क्षेत्रीय गन्तब्यलाई जोड्ने क्रममा पोखरा-भैरहवा, पोखरा-भरतपुरपछि पोखरा-नेपालगञ्ज उडान थालेको हो ।
बुद्धले पोखरालाई विराटनगर, सीमरा र जनकपुरसँग समेत जोड्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।
अहिले १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो ।
पोखराबाट बिहान ९–१० बजे र नेपालगन्जबाट १० बजे उडान हुनेछ । एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ । भाडादर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ । यसअघि सीता एअरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो । तालिकामा भने पहिलोपटक बुद्धले उडान थालेको हो । हाल काठमाडौं, भैरहवा र भरतपुर नियमित उडान गर्दै आएको बुद्धले छिटै विराटनगर र सिमरा उडान थाल्ने बताएको छ ।
नेपालगन्जसँग सिधा हवाइ उडानले जोडिएपछि आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने विश्वास पर्यटन व्यवसायीको छ । विशेषगरी भारतीय सहर लखनउ र कानपुरबाट भारतीय पर्यटक पोखरा जान सहज हुने पर्यटन व्यवसायी देवानन्द अर्यालले बताउनु भयो। ‘पोखराबाट बर्दिया, राराताल आउन र बांके, बर्दियाबाट पोखरा जाने क्रम बढ्ने विश्वास छ,’ उँहाले भन्नुभयो, ‘लुम्बिनीको राजधानी दाङ लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशसमेत जोडिएको छ ।’
प्रतिकृया दिनुहोस्