कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने छु : उपाध्यक्ष पौडेल
![कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने छु : उपाध्यक्ष पौडेल कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने छु : उपाध्यक्ष पौडेल](https://lumbinipatradainik.com.np/wp-content/uploads/2021/07/Bishwo-Paudel-1230.jpg)
लुम्बिनी पत्र । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेलले कोरोना महामारीका कारण चुनौतीको समय भएकाले त्यसलाई आत्मसात गरेर काम गर्ने बताउनु भएको छ । ‘गठनबन्धन सरकार छ, महामारीको समय छ, योजनाहरुको पुनरावलोकन गर्नुपर्ने छ,’ उँहाले भन्नु भयो,’चुनौतीको यस्तो समयमा पनि प्रधानमन्त्री र गठबन्धनका नेताहरुले मलाई आशा र विश्वास गर्नुभएको छ, यसलाई म निराशामा परिणत हुन दिन्न ।’
उँहाले कोरोनाले प्रभावित भएको अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने बताउनु भयो । डा. पौडेलले युवालाई पनि विश्वास गर्दै दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिने उँहाको भनाई छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त हुनु भएको छ । डा. पौडेल कांग्रेस तथा फुयाँल र लिम्बू माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त हुनु भएको हो।
फुयाँल र लिम्बू दुबै अघिल्लो योजना आयोगमा पनि सदस्य हुनु हुन्थ्यो । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दुबैलाई हटाउनु भएको थियो ।
युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुनु हुन्छ।
उँहासँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उँहाले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा गर्नु भएको थियो ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गर्नु भएका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।
प्रतिकृया दिनुहोस्