बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने
लुम्बिनी पत्र । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सर्तहरुको पूर्ण पालना गर्ने गरी बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाउने सूचना जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रकाशित गरेको छ।
असार २१ मा कार्यदलले पेश गरेको प्रतिवेदनलाई समेत आधार लिई बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाउने सूचना जारी गरिएको हो । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको असार २१ गते बसेको बैठकले सार्वजनिक यातायात संचालनका लागि अध्ययन गरी सुझाव पेश गर्न स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सम्बद्ध यातायात व्यवसायी लगायत सरोकारवाला सम्मिलित एक संयुक्त अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सवारी साधनलाई संचालन गर्नु पूर्व अनिवार्य रुपमा निसंक्रमण गर्ने , ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने , सवारी चालकले अनिवार्य मास्क लगाउने, सिट क्षमता भन्दा बढी यात्रुहरु नचढाउने, सहचालक/सहयोगीले अनिवार्य मास्क, भाइजर र पन्जाको प्रयोग गर्ने ,मास्क नलगाई गाडीमा चढ्न आउने यात्रुहरुलाई रु. ५ लिई मास्क उपलब्ध गराउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने , स्वास्थ्य सुरक्षाका मापदण्डहरु स्पष्ट लेखिएको सूचना गाडीमा सबैले देख्ने स्थानमा टाँस्नपर्ने, सार्वजनिक सवारी साधनहरु बिहान ६ बजे देखि साँझ ७ बजेसम्म मात्र संचालन गर्ने र यात्रुलाई गाडी चढाउनु अघि अनिवार्य रुपमा थर्मलगन प्रयोग गर्ने जस्ता शर्त पूरा गर्नु पर्दछ । सार्वजनिक सवारी साधनहरु संचालन गर्दा मापदण्ड तथा सर्तहरु पालना गर्ने सन्दर्भमा सम्बन्धित यातायात व्यवसायी संगठन/प्रा.लि.हरुले जिम्मेवारी पूर्वक अनुगमन गर्नुपर्ने प्रजिअ सन्त बहादुर सुनारले बताउनु भयो।
सूचनाको विपरित कार्य गर्ने सम्बन्धित सार्वजनिक सवारी साधनलाई संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही गरिने प्रजिअ सुनारले बताउनु भयो।
प्रतिकृया दिनुहोस्