सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल
निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म हाजिर लगाउने र कार्यालयको आन्तरिक काममात्र हुने गरेको भए पनि आजभोलि दिनमा सेवाग्राहीको कामले फुर्सद नहुने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख पर्शुराम आचार्यले बताउनुभयो ।
“सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउँदै सेवाग्राहीलाई सेवा दिइरहेका छौँ”, उहाँले बताउनुभयो । अहिले त्यो कार्यालयमा मात्र होइन जिल्लास्थित सबै कार्यालयमा सेवाग्राहीको निकै चहलपहल छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयमा त झन भीड नै लाग्ने गरेको छ । विशेषत सामाजिक विकास कार्यालय, जिल्ला कृषि विकास कार्यालय, पूर्वाधार तथा भौतिक निर्माण कार्यालय, जिल्ला वन कार्यालयलगायत प्रायः जिल्लास्थित सबै कार्यालयमा सेवाग्राहीको बाक्लो चहलपहल हुने गरेको पाइएको छ ।
जिल्ला वन कार्यालयले घाँस तथा काठ हुने जातका बिरुवा वितरण गरेपछि त्यहाँ बिरुवा लिनेको भीड आइतबार बिहानैदेखि लागेको छ । निषेधाज्ञा खुकुलो हुनासाथ बिरुवा लिनेको बिहानैदेखि भीड लागेको जिल्ला वन कार्यालयका प्रमुख टेकबहादुर राना जानकारी दिनुभयो । दैलेख सदरमुकाममै रहेको नारायण नगरपालिका कार्यालयमा योजनाको भुक्तानी लिनेको निकै चहलपहल पाइएको छ । असार २३ गतेसम्म योजनाको काम सम्पन्न गरी भुक्तानी लिइसक्नुपर्ने सरकारले नीति बनाई दिएपछि योजनामा संलग्न सेवाग्राहीको भीड लागेको लेखापाल मोहन थापाले जानकारी दिनुभयो ।
दिनमा सेवाग्राहीको ३०० देखि ४०० सम्मको हाराहारीमा कार्यालयमा आउजाउ हुन्छ सेवाग्राहीको चापसँगै कोरोनाको जोखिम पनि उत्तिकै बढेर गएको उहाँको आशङ्का छ । त्यस्तै जिल्लाका अन्य १० स्थानीय तहमा पनि सेवाग्राहीको चाप ह्वात्तै बढेर गएको पाइएको छ । सेवाग्राही र कर्मचारीबीच सामाजिक दूरी कायम गर्ने प्रत्येक फाँटमा स्यानिटाइजरको अनिवार्य प्रयोग गरी सेवा प्रभाव गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
दैलेखमा वैशाख २१ देखि निषेधाज्ञा लगाइएको थियो भने असार १७ गतेदेखि खुकुलो पारिएको प्याकुरेलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्