January 8, 2026, Thursday
२४ पुष २०८२, बिहीबार
Trending

विशेष महाधिवेशनको प्रमुख सर्त नेतृत्व परिवर्तन : गुरूराज घिमिरे

विशेष महाधिवेशनको प्रमुख सर्त नेतृत्व परिवर्तन : गुरूराज घिमिरे

विराटनगर – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। विशेष महाधिवेशन माग गर्ने अभियानका अगुवा नेता गुरूराज घिमिरेले यसको मुख्य सर्त नेतृत्व परिवर्तन नै भएको स्पष्ट पारेका छन्। उनका अनुसार वर्तमान नेतृत्व असफल भएकाले नयाँ नेतृत्वसहित ताजा म्यान्डेटमा चुनावमा जानु अपरिहार्य छ।

संस्थापन पक्षले चुनावको मुखमा महाधिवेशनले पार्टी फुट्ने तर्क गरे पनि घिमिरेले यसलाई “तर्कहीन र हाँस्यास्पद” भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाइसकेको र न्यूनतम दुई तिहाइ सहभागिता हुने दाबी गरेका छन्। उनले परम्परागत गुटबन्दी भत्किएको, नयाँ ध्रुवीकरण बनेको र शेखर कोइरालालाई समेत सहभागी हुन आग्रह गरिएको बताएका छन्।

पार्टी फुटाउने उद्देश्य नभएको स्पष्ट गर्दै घिमिरेले बहुमत पुगेपछि ‘टेकओभर’ हुने र नयाँ नेतृत्व चयन हुने बताएका छन्। सभापति शेरबहादुर देउवा नआएमा अन्य वरिष्ठ नेताबाट उद्घाटन गराउने विकल्प विचाराधीन रहेको उनले जानकारी दिए।

उनले सबैलाई विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै भने, “कांग्रेस सबैको साझा घर हो, वर्तमान नेतृत्व नहटाउने हो भने पार्टी र देशलाई सही दिशामा लैजान सकिँदैन।”

विशेष महाधिवेशनलाई घिमिरेले ऐतिहासिक, राष्ट्रिय र पार्टीको आवश्यकता ठहर गर्दै सबैलाई सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार, नयाँ नेतृत्वसहित कांग्रेसलाई युगसापेक्ष रूपान्तरण गरी देशलाई सही दिशामा लैजान सकिन्छ।

नेपाली कांग्रेसले पौष २३, २०८२ मा जारी गरेको प्रेस विज्ञप्तिमा मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार १५औं महाधिवेशनको कार्यतालिका अघि बढिसकेको र त्यसपछि माग गरिएको विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भएको स्पष्ट गरिएको छ।

 विज्ञप्तिमा क्रियाशील सदस्यता नवीकरण तथा वितरण, वडा अधिवेशन लगायतका आवश्यक प्रक्रिया जारी रहेको उल्लेख छ। पार्टीको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र हुने भन्दै व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन पार्टी विधान विपरीत हुने चेतावनी दिइएको छ। साथै, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको र राष्ट्रिय सभा सदस्यको मनोनयन पनि सम्पन्न भएको जानकारी दिँदै सबै तहका समितिहरू, भ्रातृ संस्था, जनसम्पर्क समिति तथा सदस्य–समर्थकलाई पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रिय हुन आह्वान गरिएको छ।