निर्वाचनमा भाग लिने कांग्रेसकाे निर्णय, भयमुक्त वातावरण निर्माण गर्न सरकारसग जोडदार माग
सानेपा । ललितपुरको बी.पी. स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले हालको राजनीतिक संकटबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले भदौ २३ र २४ मा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार, तथा ध्वस्त संरचनाको पुनर्निर्माणको माग गरेको छ। साथै, प्रदर्शनमा उठाइएका भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताका मागलाई वैध नागरिक आवाज मान्दै कांग्रेसले सकारात्मक रूपमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ।
बैठकले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै संविधानभित्रै समाधान खोज्न सकिने धारणा पुनः दोहोर्याएको छ।
आगामी २०८२ माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गर्दै कांग्रेसले भयमुक्त वातावरण निर्माण गर्न सरकारलाई जोडदार माग गरेको छ।
कैदीबन्दी फरार, हातहतियार हराइरहनु, दलहरूको स्वतन्त्र गतिविधि रोकावट जस्ता समस्याबारे गम्भीर चिन्ता व्यक्त गर्दै निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आवश्यक वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
जेन–जेड पुस्ताद्वारा आयोजित प्रदर्शनपछि उत्पन्न आवाजलाई सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य भएको बैठकको निष्कर्ष छ। दलहरू, नागरिक समाज, व्यवसायी, सञ्चारकर्मी र युवासँग साझा समझदारी निर्माण गर्न कांग्रेसले पहल गर्ने निर्णय गरेको छ। साथै, पछिल्ला घटनाक्रमको अध्ययन र दस्तावेजीकरण गर्ने तथा मुलुकलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन सबै पक्षलाई संयमता, संवाद र सहकार्य अपनाउन अपील गरिएको छ।

प्रतिकृया दिनुहोस्