November 20, 2025, Thursday
५ मंसिर २०८२, बिहीबार
Trending

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को आज बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको थियो। जेन-जी पुस्ताले हालसम्म गरेको निर्णायक हस्तक्षेपलाई संस्थागत गर्दै सुशासन र समुन्नतिसँग सम्बन्धित आम नागरिकका आकांक्षालाई सम्बोधन गर्ने गरी अन्य परिवर्तनकामी राजनीतिक शक्तिसँग संवाद र सहकार्य गर्ने निर्णय गरिएको छ। यसका लागि उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा उच्च संवाद समिति गठन गरिएको छ।

सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारले लगाएको मुद्दाको कानुनी अवस्थाबारे बैठकमा जानकारी गराइएको थियो।

बैठकले विस्तारित बैठक व्यवस्थापन समिति संयोजक हरि ढकालले प्रस्तुत गरेको समीक्षा र सदस्यहरूको सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, कार्यवाहक सभापति डोलप्रसाद अर्यालको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदन र सहमहान्त्री विपिनकुमार आचार्यको उम्मेदवार छनोट सम्बन्धी प्रतिवेदन पारित गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्यलाई तोकिएको छ। समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की, राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्। रुपन्देही–३ मा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार कायम रहने निर्णय गरिएको छ।

संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी “संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल” बनाइएको छ। यसको संयोजकमा केन्द्रीय सदस्य सोबिता गौतमलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, तीन नयाँ कार्यदल गठन गरिएको छ:

  • राजनीति अध्ययन कार्यदल (संयोजक विराजभक्त श्रेष्ठ)
  • निर्वाचन रणनीति कार्यदल (संयोजक मनिष झा)
  • मिडिया अध्ययन कार्यदल (संयोजक निशा डाँगी)

पार्टीले युवाहरूमा बढ्दो राजनीतिक चेतना र जेन-जी पुस्ताको सक्रिय प्रवेशलाई दृष्टिगत गर्दै Youth Nation-Building Academy आयोजना गर्ने निर्णय गरेको छ। यस कार्यक्रम कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग र नेतृत्व क्षमता विकास विभागसँगको समन्वयमा सञ्चालन गरिनेछ।

बैठकले सातै प्रदेश र ७७ जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने, जेन-जी उमेर समूहका युवासँग छलफल/संवाद कार्यक्रम आयोजना गर्ने तथा पार्टीका सबै तहमा युवा सहभागिता बढाउने गृहकार्य गर्ने निर्णय गरेको छ।

प्रवक्ता मनिष झाले बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले आगामी निर्वाचनमा संगठनात्मक सुदृढीकरण, युवाप्रति केन्द्रित कार्यक्रम र सहकार्यलाई प्राथमिकता दिने स्पष्ट पारेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय कार्यालयमा पूर्व उम्मेदवारहरूसँग पनि छलफल गरेको छ। छलफलमा सातै प्रदेशका २०७९ सालको आमनिर्वाचनका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सहभागिता रहेको थियो।