ठाकुरबाबामा सामाजिक अभियन्ता तिमिल्सिनामाथि खुकुरी, रड र गोली प्रहार — दुई पक्राउ, अन्य फरार
बर्दिया — बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ मा सामाजिक अभियन्ता रमेश प्रसाद तिमिल्सिनामाथि ज्यान मार्ने उद्देश्यले भएको निर्मम आक्रमणको घटनाले स्थानीय तहमा असुरक्षा र आक्रोश बढाएको छ। घटनामा संलग्न आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने दुई जना पक्राउ परिसकेका छन्।
घटना विवरण
कार्तिक २३ गते राति ११:१५ बजे, भुरिगाउँ निवासी ३८ वर्षीय तिमिल्सिना कालगतिले मृत्यु भएका व्यक्तिको घरमा कुरुवा बसिरहेका बेला १०–१५ जनाको समूहले बाटो छेकेर खुकुरी, रड र गोली प्रहार गरेका थिए। गोली तिमिल्सिनाको दायाँ हातको पञ्जामा लागेको छ भने टाउको, घुँडा र हातमा गम्भीर चोट पुगेको छ। उनलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको छ र अवस्था अझै गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धान र पक्राउ
जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्र कुमार मल्लका अनुसार, घटनापछि ठाकुरबाबा–४ का २० वर्षीय प्रकाश साउद र पालिका–१ का ३४ वर्षीय सुरेश कुर्मीलाई पक्राउ गरिएको छ। अन्य फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको छ। जाहेरीमा तर्क भण्डारी, आकाश शाह, छत्र कार्की, अजय चन्द लगायतका नाम उल्लेख छन्।
सामाजिक प्रतिक्रिया
तिमिल्सिना स्थानीय तहमा हुने अनियमिता र भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका व्यक्ति हुन्। सामान्य विवादमा गोली चल्नु र ठूलो समूहद्वारा आक्रमण हुनु गम्भीर विषय भएको भन्दै स्थानीय समुदायले निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।
उद्योग वाणिज्य संघ, भुरीगाउँका पूर्व अध्यक्ष जीवन शाहीले दोषीहरूलाई तत्काल पक्राउ नगरिए जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरिने चेतावनी दिएका छन्। स्थानीयहरूले आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण रहेको आरोपसमेत लगाएका छन्।

प्रतिकृया दिनुहोस्