बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल
गुलरिया — २०८२ कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०८२/०७/२० गते कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, समन्वय र उत्तरदायित्व सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो।
सोही अवसरमा गृह मन्त्रालयबाट मिति २०८२/०७/१६ गते सरूवा भई आएका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यू सहित अन्य नवआगन्तुक कार्यालय प्रमुखहरूलाई औपचारिक स्वागत गरिएको छ। बैठकले जिल्लामा समन्वित प्रशासनिक सेवा सुनिश्चित गर्न सबै निकायबीच सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
आगलागीको जोखिमबारे सचेतना: बालबालिकालाई सलाइ–लाइटरबाट टाढा राखौं
बर्दिया प्रशासनले हालै धान काटेर राखिएको पराल, कुन्यू, टालमा आगलागी भइरहेका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। विशेषतः बालबालिकालाई सलाइ वा लाइटर खेल्न नदिनु, आगो नियन्त्रणका उपायहरू अपनाउनु, र सामुदायिक सतर्कता बढाउनु अत्यावश्यक रहेको प्रशासनले जनाएको छ।
करदाता सेवा कार्यालय खारेजीपछि वैकल्पिक सेवा प्रवाहको व्यवस्था
अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंले करदाता सेवा कार्यालयहरू खारेज गरिएको विषयमा स्पष्ट सूचना जारी गरेको छ। विभागका अनुसार:
- स्थायी लेखा नम्बर प्रमाणपत्र लगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट प्रदान गरिनेछ।
- स्थानीय तहमा सेवा सुचारु हुन समय लाग्ने अवस्थामा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै सेवा प्रवाह गरिनेछ।
- कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा छ।
- सेवा प्रवाहलाई प्रविधिमैत्री र करदाताको नजिक बनाउने नीति अनुरूप विकेन्द्रीकरणको प्रक्रिया अघि बढाइएको छ।
विभागले सबै सरोकारवालाहरूको सहयोगको अपेक्षा गर्दै सेवा निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्