बर्दियामा फरार कैदी पक्राउ, गोहीको आक्रमणमा युवक वेपत्ता, लागू औषधसहित दुई समूह नियन्त्रणमा

बर्दियामा फरार कैदी पक्राउ, गोहीको आक्रमणमा युवक वेपत्ता, लागू औषधसहित दुई समूह नियन्त्रणमा

गुलरिया। बर्दिया जिल्लामा पछिल्लो समय तीन फरक घटनाले सुरक्षा र जनचासोको विषय उठाएको छ।

पहिलो घटना बाँकेको नौबस्ता कारागारबाट जेन–जी आन्दोलनको बेला फरार भएका गुलरिया नगरपालिका–५ निवासी २३ वर्षीय रामशरण चौधरीको पक्राउसँग सम्बन्धित छ। बलात्कार मुद्दामा सजाय भोगिरहेका चौधरी नागरिकताको प्रतिलिपि बनाउने क्रममा शंका लागेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाबाट नियन्त्रणमा लिइएको हो। बर्दियाबाट फरार ४९ कैदीमध्ये हालसम्म चार जना पक्राउ परिसकेका छन्।

दोस्रो घटना गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारु गोहीको आक्रमणपछि ३९ दिनदेखि वेपत्ता भएको हो। असोज ६ गते भैँसीलाई पानी खुवाउन गएका बेला गोहीले आक्रमण गरेपछि उनी बेपत्ता भएका थिए। खोजीमा दुई हात्ती, मोटरबोट, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीयवासी परिचालित भए पनि अवस्था अझै अज्ञात रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। हाल खोजी कार्य रोकिएको छ। यसअघि साउन २० गते मधुवन नगरपालिका–१ कैलासीका १९ वर्षीय रुपमिलन थारुको गोहीको आक्रमणबाट मृत्यु भएको थियो। गेरुवा, कर्णाली, बबईलगायत खोलामा गोही सक्रिय रहेकाले निकुञ्ज प्रशासनले सचेत रहन आग्रह गरेको छ।

तेस्रो घटना लागू औषधसहित दुई समूहको नियन्त्रणसँग सम्बन्धित छ। मिति २०८२/०७/१२ गते बेलुकी ७:३० बजे बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्टमा भारतबाट साइकलमा आउँदै गरेका बाँके बैजनाथ–५ निवासी २६ वर्षीय प्रकाश रेग्मी र साइकल पछाडि सवार प्रदीप चौधरीलाई चेकजाँच गर्दा १.५७ ग्राम र १.२९ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। सोही राति १०:३० बजे फुटाह चेकपोष्टमा भारतको बलईगाउँबाट नेपाल प्रवेश गर्दै गरेका गेरुवा–४ का बिर बहादुर रावल, कोहलपुर–५ का सूरज शाही र भारत  कर्नाटक प्रदेशका सोयत साइतलाई चेकजाँच गर्दा ७०० मिलिग्राम र ४५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।

दुबै घटनामा संलग्न व्यक्तिहरूलाई बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन्।