गुलरिया नगरपालिकाका सरसफाईकर्मी बनेसु चौधरीको निधनले सिंगो नगर शोकमग्न
गुलरिया — गुलरिया नगरपालिकाको सरसफाइ शाखामा कार्यरत सरसफाईकर्मी बनेसु चौधरीको असोज १७ गते भएको असामयिक निधनले सिंगो नगरपालिका परिवारलाई गहिरो शोकमा डुबाएको छ।
दशैं विदामा बारबर्दिया नगरपालिका वडा नं. १० स्थित घर गएका चौधरी जनजागृति सामुदायिक वन (वडा नं. ११) मा मृत अवस्थामा फेला परेपछि नगर कार्यपालिकाले औपचारिक शोक वक्तव्य जारी गरेको हो।
नगरपालिकाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेको छ, “यस पालिकाको सरसफाइ शाखामा सरसफाईकर्मीको रूपमा कार्यरत बनेसु चौधरीको मिति २०८२।०६।१७ गते भएको दु:खद् निधन प्रति नगरपालिकाद्वारा जारी गरिएको शोक वक्तव्य।”
नगरप्रमुख मुक्तिनाथ यादव र प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले संयुक्त रूपमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
वक्तव्यमा चौधरीको समर्पण र योगदानलाई सदैव स्मरणीय रहने उल्लेख गरिएको छ। साथै, नगरपालिकाले सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
स्थानीय प्रतिक्रिया
नगरवासीहरूले सामाजिक सञ्जालमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाको संवेदनशीलता र सम्मानप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। एक स्थानीय नागरिकले लेखेका छन्, “श्रम र समर्पणको प्रतीक बनेसु दाइको सम्झना सधैं रहिरहनेछ।”

प्रतिकृया दिनुहोस्