गुलरियामा आगजनी र लुटपाट हिंसात्मक गतिविधिको घटनामा संलग्न भएको आशंकामा चार जना प्रहरी नियन्त्रणमा
बर्दिया: जेन–जी आन्दोलनको नाममा बर्दिया जिल्लामा भएका हिंसात्मक गतिविधिले यहाँको शान्ति र सुरक्षा व्यवस्थामा गम्भीर चुनौती खडा गरेको छ। गुलरिया नगरपालिकाको कार्यालय, सांसद सञ्जयकुमार गौतमको घर, नेकपा (एमाले) र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा आगजनी र लुटपाट भएको घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा आगजनी र लुटपाट गरिएका तस्बिरहरू भाइरल भएपछि प्रहरीले यस घटनामाथि चासो बढाएको थियो। यस घटनाको अनुसन्धानका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गर्न नमिल्ने बताएका छन्। गुलरिया नगरपालिकाको कार्यालय र सांसदको घरमा भएको क्षतिको अनुसन्धानलाई प्रहरीले तीव्र बनाएको छ।
यसैबीच, शनिवार बारबर्दिया नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार पक्राउ पर्नेहरूमा टोप बहादुर सिजाली, शंकर थारु र सञ्जीव चौधरी रहेका छन्। यो घटनाले जेन–जी आन्दोलनको मूल उद्देश्यलाई ओझेलमा पार्ने काम गरेको छ। आन्दोलनको नाममा हिंसा र अराजकता फैलाउने तत्वहरूलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरीले जारी राखेको छ। यस्ता गतिविधिले समग्रमा जिल्लाको शान्ति सुरक्षामा नकारात्मक असर पारेको छ।

प्रतिकृया दिनुहोस्