गणतन्त्रवादीलाई झस्काउने गरी शक्तिप्रदर्शन

गणतन्त्रवादीलाई झस्काउने गरी शक्तिप्रदर्शन

काठमाडौं। झन्डै दुईतिहाइको सरकार र दलहरूका गतिविधिबाट नागरिकमा बढिरहेको असन्तुष्टिको पृष्ठभूमिमा आइतबार राजावादीहरूले गणतन्त्रवादीलाई झस्काउने गरी शक्तिप्रदर्शन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनीहरूले गणतन्त्र स्थापनापछि पहिलोपटक काठमाडौंमा यति ठुलो प्रदर्शन गरेका हुन् । यसले दल र नेताहरूलाई सुध्रिन दबाब बढाएको छ ।अपराह्न पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वागतमा विमानस्थलमा जम्मा भएका राजावादीहरूले जयजयकार गर्दै साढे तीन घन्टा लगाएर निर्मलनिवास पुर्‍याए । प्रफुल्ल देखिएका पूर्वराजा बाटोमा समर्थकहरूलाई अभिवादन गरिरहे । समर्थकहरूले फूल, माला र खादाले स्वागत गरे ।

गाडीको छत खुला गरिएको भागबाट आधा शरीर बाहिर निकालेर शाहले समर्थकलाई उत्साहित गराउँदै हात हल्लाइरहेका थिए । उत्साही देखिएका राजावादी पैदल र मोटरसाइकलमा अघिपछि झाँकी र बाजागाजासहित र्‍यालीमा सहभागी बने । उनीहरूले समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाए । विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज हुँदै निर्मलानिवाससम्म पुर्‍याउन करिब साढे तीन घण्टा लागेको थियो । ‘सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी संघसंस्था र पार्टीहरूले आ–आफ्नो हिसाबले राजाको ६ फागुन साँझको आह्वान (प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देश)लाई स्वागत गर्दै राजालाई काठमाडौंभित्र हुलेका हुन् । सबै शक्ति आ–आफ्नो हिसाबले अघि बढेका हुन्,’ राप्रपा आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री डा. धवलशमशेर राणाले भने ।

महामन्त्री राणाले अब राजावादीहरूको मोर्चा बनाएर अगाडि बढ्ने तयारी रहेको बताए । ‘राजाको आह्वानलाई साकार गर्नका लागि हामी सबै दत्तचित्त भएर लाग्छौँ । सकेसम्म अहिलेका पार्टीहरूसित सहकार्य गरेर, राजालाई स्पेस दिएर, संविधान परिवर्तन गरेर राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न सकियो भने अति राम्रो हुन्छ । दलहरूले मान्दैनन् भने जनताको शक्तिले, आन्दोलनले स्थापित गर्नुपर्ने आवश्यकता रहन्छ,’ राणाले भने ।

काठमाडौं उत्रिएलगत्तै पूर्वराजा शाहले विमानस्थलको अतिविशिष्ट कक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छलफल गरेका थिए । पूर्वराजाको स्वागतका लागि राप्रपाले आइतबारको पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरेर पार्टीपंक्ति परिचालन गरेको थियो ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ६ फागुनमा भिडियो सन्देश जारी गरी दलहरू असफल भएकाले एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राजावादीहरू उत्साहित भएका हुन् । शाहले विगतका प्रजातन्त्र दिवसहरूमा पनि वक्तव्य जारी गर्थे । तर, यसपटक भिडियो सन्देशबाटै सक्रियताको संकेत गरेपछि राजावादीहरू गोलबद्ध भएर अगाडि आएका हुन् । शाहले भिडियो सन्देश जारी गरेपछि आइतबारको प्रदर्शनसम्म आइपुग्न राजावादीहरूले विभिन्न कार्यक्रम गर्दै आएका थिए । २१ फागुनमा काठमाडौंमा राजावादी–हिन्दुवादीहरूले मोटरसाइकल र्‍याली गरेका थिए । पोखरालगायत देशका विभिन्न भागमा पनि राजावादीहरूको गतिविधि बढ्यो ।

पूर्वराजाको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको समूह, संस्कृतिविद् डा. जगमान गुरुङले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर विष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपाल समूहलगायतले सर्वसाधारणलाई आह्वान गरेका थिए । पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए ।

पूर्वराजाको समर्थन र प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउनेको भिडमा विगतमा एमालेनिकट रहेका तथा एमालेले सहयोग गरेका व्यक्तिहरू नै थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्कृतिविद् जगमान गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं, पूर्वसांसद गंगा चौधरी उक्त भिडमा थिए । लिङदेन गत निर्वाचनमा एमालेसँग तालमेल गरेरै सांसद भएका हुन् । गुरुङलाई एमालेले प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएको थियो । त्यस्तै, प्रसाईं एमालेका पूर्वकेन्द्रीय सदस्य र चौधरी एमालेकै पूर्वसांसद हुन् । थापालाई पनि गत निर्वाचनमा एमालेले आफ्नै पार्टीको चुनाव चिह्न दिएर निर्वाचन लडाएको थियो ।

डा. जगमान गुरुङले पोखराबाट पूर्वराजालाई बिदाइ गरेका थिए । उनको समूहका अन्यले भने काठमाडौंमा स्वागत गरेका थिए । ‘हामीले पोखरामा साइत गरेर काठमाडौं पठायौँ । समय र परिस्थितिले लाग्नुपर्ने भयो । यो व्यवस्थाले जनतालाई आश्वस्त पार्न सकेन । वर्तमान व्यवस्थाबाट जनता असन्तुष्ट भएर राजालाई गुहारे,’ गुरुङले भने । आफू पार्टी राजनीतिभन्दा बाहिर रहेको उनको भनाइ छ । राजाको नीति नै राजनीति भएको तर्क गर्दै उनले जनताले आजित भएर राजालाई गुहारेको दाबी गरे ।

निर्मलनिवासबाट ज्ञानेन्द्र शाहीका चार प्रस्ताव– राजा, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज र बौद्धिक सनातन हिन्दुराष्ट्र निर्मलनिवासअगाडि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले राजासहितको प्रजातन्त्रको माग गरे । राजासहितको प्रजातन्त्रको व्यवस्था नगरे सरकारलाई देशबाट लखेट्नुपर्ने अवस्था आउने चेतावनी शाहीले दिए ।

‘प्रधानमन्त्री ओलीलाई मेरो अनुरोध छ । अहिले तपाईंसँग दुईतिहाइ बहुमत छ । नवीन सम्झौता गर्नुस् । राजासहितको प्रजातन्त्र ल्याउनुस् । तपाईंहरूले राजनीति गर्न पाउनुहुन्छ । तपाईंहरूले आन्दोलन गरेर राजा फालेको होइन । नेताहरूले हरियो डलर खाएर जनमत विपरीत गएको हो । नवीन सम्झौता गर्न दलहरूलाई खुला आह्वान गर्दछौँ,’ शाहीले भने ।

उनले राजा राख्ने र संसद्को पुनस्र्थापना गर्ने भनेर त्यतिवेला राजासँग सम्झौता भएको पनि दाबी गरे । ‘तिमीहरूले राजालाई फाल्यौ । न त जनमतसंग्रह गरेर फालेका हौ, न त आन्दोलन गरेर फालेका हौ । विदेशीको डलर खाएर राजसंस्था फाल्ने काम भयो । त्यही भएर मेरो अपिल छ– नवीन सम्झौता गरेर अहिलेको संविधानमा राजा राख्नुहोस् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राख्नुस्,’ शाहीले भने, ‘महामहिम राष्ट्रपतिलाई मेरो अपिल छ, अब राष्ट्रपति होइन, तपाईं प्रधानमन्त्री बन्न आउनुहोस् ।’

नवीन सम्झौता गरेर राजा नराखे नेपाल बंगलादेश हुन सक्ने चेतावनी पनि उनले दिए । उनले भने, ‘चार विषयमा नवीन सम्झौता हुनुपर्छ । पहिलो– राजा चाहियो, राष्ट्रपति बाइबाइ । दोस्रो– जनताबाट निर्वाचित प्रधानमन्त्री, तेस्रो– प्रदेश खारेज र चौथो– बौद्धिक सनातन हिन्दुराष्ट्र । यी चार मुद्दा अहिलेको सरकारले लागू गर्दैन भने देशभरबाट सदरमुकाम घेर्नुस् । कार्यान्वयनका लागि बाध्य पार्नुस् । सरकारलाई भन्न चाहन्छु– तपार्इंहरू नवीन सम्झौतामा आउनुभएन, दबाब सिर्जना गर्न थाल्नुभयो भने राष्ट्रवादी साथीहरू राष्ट्रिय झन्डामा एकताबद्ध भएर बंगलादेश नहोस्, श्रीलंका नहोस् । देश छाडेर प्रधानमन्त्रीले भाग्न नपरोस् ।’

एमाले पूर्वसांसद् गंगा चौधरीले राष्ट्रलाई आवश्यक परेकाले राजाको स्वागतमा गएको बताएकी छिन् । ‘राष्ट्रलाई आवश्यक परेका कारण राजाको स्वागतमा गएका हौँ । पहिला– हाम्रो राष्ट्र हो । राजसंस्थालाई हृदयमा राखेर हिँड्नुपर्ने आवश्यकता छ । राष्ट्र र राष्ट्रियताको पक्षमा गंगा चौधरी लड्छ । युवा पुस्ता दैनिक हजारौँको संख्यामा बिदेसिँदै छन् । राजतन्त्र मुर्दावादको नारा उठाएका जनता अहिले राजतन्त्र जिन्दावाद भन्ने अवस्थामा पुगे । राजाको पालामा पढ्न नपाएको भए बाबुराम भट्टराई कसरी डाक्टर बने, पुष्पकमल दाहाल कसरी शिक्षक भए ?’ उनले भनिन्, ‘अब देश बचाउँछन् भने राजाले नै बचाउँछन् ।’

उनले संविधानमा लेखिएका विषय कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाइन् । प्रधानमन्त्री केपी ओलीले सस्तो लोकप्रियताका लागि सीमाको विषय उठाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको उनको भनाइ छ । भीम रावलको मातृभूमि अभियान पनि यही पक्षमा रहेको र उनी भारतमा भएकाले मात्रै यो अभियानमा आउन नसकेको उनको दाबी छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलनको शुभारम्भ भएको दाबी गरे ।

के भन्छन् दलका नेता ?

त्यस्तै, सत्तारूढ दल कांग्रेसले पूर्वराजाको गतिविधि दलहरूले नजिकबाट नियालिरहेकाले कसरी जाने भन्ने विषयमा आन्तरिक सल्लाह गरिरहेको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्वागतका नाममा पूर्वराजाले भिड जम्मा गरेर व्यवस्थाविरुद्ध चलखेल गर्न खोजेको आभाष भएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र नागरिक भइसकेका हुन् ।

संविधान मान्छु भनेर त्यही बाटोमा हिँडिरहेको दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेको कुरालाई सामान्य रूपमै लिएका छौँ र त्यसप्रति कुनै आपत्ति छैन,’ उनले भने, ‘तर, त्यही नाममा बिस्तारै संविधानविरुद्ध, व्यवस्थाविरुद्ध भिड र माहोललाई लगेर देशमा फेरि निरंकुशता लाद्नेतर्फ कोसिस गर्न खोजेको पो हो किजस्तो पनि संकेत देखिएको छ । यसलाई गम्भीरतापूर्वक लिएर संविधान पक्षधर दलहरूले आपसी सल्लाह पनि गरिरहेका छौँ ।’

माओवादी उपाध्यक्ष पम्फा भुसाले राजतन्त्र पुनस्र्थापना असम्भव रहेको बताएकी छिन् । जनताले त्याग र बलिदान गरेर ल्याएको गणतन्त्रमा अभिव्यक्ति र संगठन गर्न पाउने अधिकार रहकाले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताइन् । सरकारको कामकारबाहीले जनतामा पैदा गरेको निराशाको फाइदा राजावादीले उठाएको उनको दाबी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राजतन्त्र होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री देशलाई आवश्यक रहेको बताएकी छिन् । उनले राजा फर्काउने नाममा नअलमलिन नागरिकलाई अपिलसमेत गरेकी छिन् । ‘जबसम्म भ्रष्ट मानसिकता भएकाहरू मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन्, तबसम्म राजा आए पनि, गणतन्त्र आए पनि देश बन्दैन । त्यसैले, राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अलमलिनुभन्दा देशका लागि अझ एक कदम माथि उठेर यो देश बनेको हेर्न चाहने तपाईं–हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनका लागि लड्ने वेला आएको छ,’ उनले भनिन् ।

(नयाँ पत्रिका दैनिक बाट)