October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

सरकारका ३ वटै तह थप मिडियामैत्री हुनुपर्ने

सरकारका ३ वटै तह थप मिडियामैत्री हुनुपर्ने

काठमाण्डौ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोगमा केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला २०७९ भाद्र २० गते काठमाडौंमा सम्पन्न भएको छ। अन्तरक्रिया समेत भएको उक्त भेलाले नेपाल पत्रकार महासंघका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरु पूर्ण रुपमा बैंकिङ्ग प्रणालीमा जान र आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले  बताउनु भयो । देशभरिका शाखा र प्रदेश समितिमा आर्थिक तथा भौतिक संरचना सहितको सम्पति विवरण पारदर्शी बनाउनलाई सफ्टवेयर निर्माण गरी महासंघका सम्पूर्ण विवरण केन्द्रीकृत गर्न भेलाले प्रतिबद्धता गरेको सेजुवालको भनाई छ ।
भेलाले पत्रकार महासंघको आर्थिक सुशासन, पारदर्शिता र सुदृढीकरणको लागि अभियानका रुपमा देशैभर लैजान र कोषाध्यक्ष लगायत जिम्मेवार पदाधिकारीसँग प्रदेशस्तरीय सामूहिक भेला गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीय स्तरका मिडियालाई आर्थिक हिसाबले व्यवस्थित बनाउन हाल गैरकानुनी रुपमा युट्युब, फेसबुक, टिकटक लगायतका सोसल मिडियाबाट भइरहेको विज्ञापनलाई नियमन गर्न र गराउन भेलाले सरकारसँग माग गरेको छ ।
भौतिक सम्पत्ति मात्रै महासंघको सम्पत्ति नभएर अग्रज पत्रकारको अनुभव र अनुभूतिलाई पनि सम्पत्तिको रुपमा लिन ज्ञान संकलन  मार्फत प्रकाशन, प्रवर्धन गरि सम्पत्ति संरक्षण गर्न भेलाले प्रतिबद्धता गरेको छ । नेपाल पत्रकार महासंघका शाखा कार्य समितिका आर्थिक प्रतिवेदन प्रदेश समितिमा र प्रदेश समितिका आर्थिक प्रतिवेदन केन्द्रीय समितिमा पठाउने व्यवस्था मिलाउने प्रतिवद्धता समेत गरिएको छ।
संघीयताको मुल मर्मलाई आत्मसाथ गर्दै  सरकारका ३ वटै तहलाई थप मिडियामैत्री बनाउन भेलाले मांग समेत गरेको छ।
लेखा समितिका संयोजक लेख नाथ भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पूरी, १० वटै प्रदेशका कोषाध्यक्षहरुले समेत आ आफ्नो धारणा राख्नु भयो।