May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सात लाख बढीको सामान बरामद

सात लाख बढीको सामान बरामद

गुलरिया ।  नेपाल भारत सीमा इलाकाबाट सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त फाली सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलिनगरबाट खटिएको  सशस्त्र प्रहरीले बरामदगरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार रोडबाट बरामद गरेको हो ।
त्यसैगरी सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित हरकट्टी गाउँबाट माघ २० गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा गरेको छ। भारतबाट अवैध रुपले स ७ प ११४३ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक सूचना अधिकारी मन्दिप श्रेष्ठले बताउनु भयो।