बडादशैँको शुभकामना, बजार अनुगमन र निषेधाज्ञाको समय परिवर्तन
बर्दिया। जिल्ला प्रशासन कार्यालय बर्दियाले २०८२ सालको महान् पर्व बडादशैँको पावन अवसरमा सम्पूर्ण बर्दियावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।
कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान् चाड दशैँले बोकेको विविधता बीचको एकता, आपसी सद्भाव र पारिवारिक मेलमिलापको सन्देशलाई आत्मसात गर्न आह्वान गरेको छ। सन्देशमा दशैँले सबैमा प्रेम, भाइचारा र सहिष्णुताको भावना जगाओस् भन्ने कामना गर्दै देशको समृद्धि, शान्ति र सुव्यवस्थित समाज निर्माणमा सबैको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ। कार्यालयले सम्पूर्ण बर्दियावासीको सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र उज्वल भविष्यको कामना गर्दै यो दशैँ जीवनमा नयाँ उत्साह र सुखद क्षणको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।
चाडपर्व लक्षित बजार अनुगमन तीव्र: म्याद नाघेका सामग्री नष्ट
जिल्ला प्रशासन कार्यालय बर्दियाले दशैँमा उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा सामग्री उपलब्ध गराउने उद्देश्यले लगातार बजार अनुगमनलाई तीव्रता दिएको छ। प्रशासकीय अधिकृत एवम् निरीक्षण अधिकृत विमल गुरुङको नेतृत्वमा दुई दिन फरक-फरक बजारमा अनुगमन गरिएको थियो।
- गुलरिया बजारमा कारबाही (मिति २०८२/०६/०८ गते): गुलरिया नगरपालिका अन्तर्गत अनुगमन गर्दा म्याद नाघेका रु. १७९०/- (एक हजार सात सय नब्बे रुपैयाँ) बराबरका सामग्री जफत गरी नष्ट गरियो।
- बढैयातालमा अनुगमन (मिति २०८२/०६/०९ गते): बढैयाताल गाउँपालिका अन्तर्गत अनुगमन गर्दा पनि फेला परेका म्याद नाघेका (Expired) सामग्रीहरू तत्काल जलाई नष्ट गरियो।
दुवै अनुगमनका क्रममा मूल्यसूची, बिलबीजकको प्रयोग र सरसफाइजस्ता कैफियतहरू देखिएकाले व्यवसायीहरूलाई तत्काल सुधार गर्न आवश्यक निर्देशन दिइएको छ। अनुगमनमा गुलरिया/बढैयाताल गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
गुलरियाको निषेधाज्ञाको समय परिवर्तन
जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिकाको मुख्य बजार क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञाको समयमा परिवर्तन गरेको छ।
नागरिकहरूको सुझाव तथा जिल्ला सुरक्षा समितिले गरेको समिक्षा बमोजिम निषेधाज्ञाको समय घटाइएको हो।
- परिवर्तित समय: मिति २०८२/०६/०७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि हरेक दिन राती १०:०० बजेदेखि विहान ५:०० बजेसम्म कायम गरिएको छ। (यसअघि मिति २०८२/०५/२८ गतेदेखि साँझ ६:०० बजेदेखि विहान ५:०० बजेसम्म थियो)।
- निषेधित क्षेत्र: गुलरिया नगरपालिकाको पूर्वः गणेशपुर चोकदेखि पश्चिमः बबई क्याम्पससम्म र उत्तरः जिल्ला समन्वय समितिको कार्यालयदेखि दक्षिणः भारतीय सीमा नाकासम्म रहेको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्दै नागरिकको सहज आवतजावतलाई ध्यानमा राखी निषेधाज्ञाको समयमा परिवर्तन गरिएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्