January 17, 2026, Saturday
४ माघ २०८२, शनिबार
Trending

लुम्बिनी–गण्डकी संयुक्त बैठक सम्पन्न : साझा विकासका लागि नौ बुँदे निर्णय

लुम्बिनी–गण्डकी संयुक्त बैठक सम्पन्न : साझा विकासका लागि नौ बुँदे निर्णय

स्याङ्जा — लुम्बिनी र गण्डकी प्रदेशबीचको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ। बैठकले अन्तर–प्रदेश सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नौ बुँदे निर्णय गर्दै साझा विकास योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रूपमा निर्णयपत्रमा हस्ताक्षर गरे।

मुख्यमन्त्री आचार्यले संविधानले प्रदेशलाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सहकार्य र समन्वयमार्फत समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए। उनले सडक पूर्वाधार र साझा योजनामा संघीय सरकारको ध्यानाकर्षण गराइरहेको जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्न दुवै प्रदेशले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, योग र ध्यानमार्फत पर्यटन प्रवर्द्धनमा सम्भावना रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

संविधानको धारा २३२ र २३३ मा उल्लेखित समन्वय र सहकार्यको मर्मलाई आधार बनाउँदै दुवै प्रदेशले साझा हितका कार्यक्रम अघि बढाउने सहमति जनाएका छन्।

बैठकका प्रमुख निर्णयहरू:

  • पहिलो बैठकका २१ बुँदाको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना पेश गर्ने
  • साझा नीति, कार्यक्रम र बजेटको विवरण तयार गरी कार्यान्वयनमा जोड दिने
  • ‘उत्तरवाहिनी–लुम्बिनी मुक्तिमार्ग’ विकासका लागि अवधारणा पत्र तयार गर्ने
  • रूपान्तरणकारी कार्यक्रमहरूलाई साझेदारीमार्फत अघि बढाउने
  • कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि कार्ययोजना तयार गर्ने
  • कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन सहजीकरण गर्ने
  • अनुभव आदान–प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने
  • कानूनी तथा नीतिगत एकरूपता कायम गर्दै जाने
  • तीर्थ तथा पर्यटकीय स्थलहरू जोड्ने पदमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने

बैठकमा दुबै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो