January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

गुलरिया । नेपाली कांग्रेसका महामन्त्री एवं स्थानीय तह उपनिर्वाचन–०८१ संयोजक विश्वप्रकाश शर्माले आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त गर्नु भएको छ।

विज्ञप्ति निकालेर उँहाले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको सबै परिणाम आइसकेको छ । पहिलो दलका रूपमा नेपाली कांग्रेसलाई विजयी गराउनु हुने सबै आदरणीय मतदातामा सम्मान र आभार प्रकट गर्दै, रिक्त ४४ स्थानका नवनिर्वाचित जनप्रतिनिधिमा नेपाली कांग्रेस एकमुष्ट बधाई ज्ञापन गर्नु भएको छ।

उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समिक्षा हामी गर्नेछौं नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई, हामीले संतोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं : उँहाले भन्नु भएको छ।

(१) उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त एक्यवद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।

(२) रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रुपले बढि महत्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।

(३) ०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौं भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौं । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं ।

(४) उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ । निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पंक्तिको बिशेष सतर्कता र कृयाशिलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सकृय भुमिका निभाउने युवा पंक्तिलाई पार्टी सम्मान गर्दछ ।

चुनावी दौड सकिएको छ, अब सबै तितानमिठा भुलेर काममा जुटौं ।

सबै विजयीलाई आग्रह–पुर्वाग्रह मुक्त भएर जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना । निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षाकर्मी, समाचार सम्प्रेषण गर्ने संचारकर्मी लगायत सबैप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ ।