प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम
गुलरिया । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ।
तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको उद्देश्य र यसले बालबालिकाको समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउनु भयो। कार्यक्रमको सञ्चालन परियोजना अधिकृत इश्वर विकले गर्नु भयो।
तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनु हो। गुलरिया, मधुबन, र बडैयाताल गाउँपालिकाका १५ विद्यालयबाट आएका २० जना शिक्षकहरूले यो तालिममा सहभागिता जनाएका छन्।
पहिलो दिनको तालिममा, प्रशिक्षक झल कुमारी कार्कीले बाल विकासको अवधारणा, यसको महत्व, र शैक्षिक सामग्री निर्माण सम्बन्धी विषयहरूमा ज्ञान प्रदान गर्नुभयो। कार्यक्रममा अनुगमन मूल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति पनि महत्त्वपूर्ण रह्यो।
यस तालिमले शिक्षकहरूको शैक्षिक दक्षता वृद्धि गर्दै स्थानीय विद्यालयहरूको शैक्षिक गुणस्तरमा योगदान पुर्याउने विश्वास लिइएको छ।
प्रतिकृया दिनुहोस्