October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

प्रहरी सेवाका हरेक कर्मचारीहरू इमानदार, व्यावसायीक, दक्ष र कुशल हुनुपर्छ : गृहसचिव दुवाडी

प्रहरी सेवाका हरेक कर्मचारीहरू इमानदार, व्यावसायीक, दक्ष र कुशल हुनुपर्छ : गृहसचिव दुवाडी

गुलरिया । गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ।

नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड दिई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारीहरू इमानदार, व्यावसायीक, दक्ष र कुशल हुनुपर्ने बताउनुहुँदै प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा गृहसचिव दुवाडी समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ सम्बन्धी पुस्तक प्रदान गर्नुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

निरीक्षण भ्रमणको क्रममा गृहसचिव दुवाडी समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।