टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत

टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत
गुलरिया ।नेपाल  पत्रकार महासंघले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरेको छ ।
मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासंघले सधैं सकारात्मक भूमिका खेल्दै आएको छ । सशस्त्र द्वन्द्वको अन्त्यपछि भएको विस्तृत शान्ति सम्झौतालाई पूणर्ता दिन टीआरसी विधेयक पारित भई कार्यान्वयनको चरणमा प्रवेश गर्नु आफैंमा महत्वपूणर् उपलब्धि हो वरिष्ठ उपाध्यक्ष एवं प्रेस स्वतन्त्रता तथा श्रमजीवी हित प्रवर्धन समिति संयोजक रमेश विष्टले भन्नुभयो ।
नेपाली प्रेस जगत मुलुकमा भएको सशस्त्र द्वन्द्वको चपेटामा परेको तथ्य विदितै छ । सशस्त्र द्वन्द्वको अवधिमा राज्यपक्ष र विद्रोही पक्षबाट तीन दर्जन सञ्चारकर्मीको निर्मम हत्या भएको छ । केही सञ्चारकर्मी हालसम्म पनि बेपत्ता छन् । कैयांै सञ्चारकर्मीले यातना, धम्की र विस्थापनको दुःखद् अवस्था भोग्नु पर्यो ।
पत्रकार हत्या र बेपत्ता पार्ने जघन्य र मानवता विरोधी अपराध कार्यमा संलग्न दोषीहरूलाई अहिलेसम्म पनि कानुनी कारवाहीको दायरा ल्याइएको छैन । जसले गर्दा पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्याय प्राप्त गरेको अनुभूति गर्न सकेका छैनन् । पीडित परिवारले क्षतिपूर्ति प्राप्त गर्न सकेका छैनन् भने उनीहरूको परिपुरणको व्यवस्था हुन सकेको छैन ।
महासंघ सशस्त्र द्वन्द्वका समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका पत्रकार तथा नागरिक हत्या, वेपत्ता र यातनामा संलग्नहरूलाई कानुनी कारवाहीको दायरामा ल्याई न्यायको प्रत्याभूति गराउन माग गर्दछ । साथै पीडित परिवारलाई क्षतिपूर्ति र परिपुरणको व्यवस्था गर्न राज्यसँग माग गर्दछ बिज्ञप्तीमा भनिएको छ ।