दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिनुभएको हो ।
‘तपाईहरु संग छलफल गर्न चाहन्थे । किसानले दुधको भुक्तानी नपाउदा समस्या परेको छ । म सम्म पनि किसानको कुरा आईपुगेको छ । दुधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस’उहाँले भन्नुभयो,‘किसानको भुक्तानी रोकेर राख्न हुदैन । म संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’ गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लुम्बनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । भेटमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गर्नु भएको छ । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
प्रतिकृया दिनुहोस्