मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरि दुई करोड रुपियाँ ठग्ने भुसाल प्रहरी नियन्त्रणमा

लुम्बिनीपत्र
गुलरिया । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ ।
मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेकोमा कावासोती नगरपालिका–२ का अमृत भुसाल प्रहरी नियन्त्रणमा पर्नु भएको छ ।
महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाललाई नियन्त्रणमा लिइ कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो।
भुसालले मिटरब्याजमा अधिकांश थारू समुदायका व्यक्तिलाई निसाना बनाएको प्रहरीको भनाइ छ । मिटरब्याजमा ठगिनेमा कावासोती–१७ का फन्सनारायण महतो र निरमणि थनेतलगायत झन्डै १७÷१८ जना रहेको र उनीहरूबाट पनि जाहेरी मागिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
२०७६ जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भुसालबाट प्रतिदिन १५ हजार रुपियाँ ब्याज तिर्ने गरी १० लाख रुपियाँ लिनुभयो । त्यसमा ४० लाख थपिदिएर ५० लाख पु¥याइदिने र मासिक पाँच लाख रुपियाँका दरले ब्याज बुझाउने सर्त थियो । त्यही सर्त मञ्जुर गरेर महतोले मध्यविन्दु–७ को चार कट्ठा छ धुर जग्गा भुसाललाई दृष्टिबन्धक गरिदिनुभयो । भुसालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराउनुभयो ।
५० लाख पुर्याइदिने सर्त भए पनि भुसालले सुरुमा १० लाख, २०७६ असार २ गते १६ लाख ५४ हजार ६६२ रुपियाँ र अन्तिम पटक १० लाख गरी जम्मा ३६ लाख ५४ हजार ६६२ रुपियाँ मात्र महतोलाई दिएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।
“पहिले दिएको १० लाखको साँवा र चक्रवर्ती ब्याजसमेत जोडेर २० लाख ४५ हजार ३३८ रुपियाँ पुगिसकेको हुँदा सोसमेत गरी ५० लाख पुग्यो भनी भुसालले महतोसँग थप १० लाख मिटरब्याजमा लिएको देखिन्छ । त्यति मात्र होइन, उक्त रकमको छ महिनासम्म मासिक पाँच लाखका दरले २९ लाख छ हजार रुपियाँ महतोले भुसाललाई बुझाएको देखिन्छ,” प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो ।
जग्गा फिर्ता पाउने आसमा महतोले साढे ३६ लाखको चक्रवर्ती ब्याज स्वरूप ३२ लाख रुपियाँ बुझाएको प्रमाण रहेको प्रहरीको भनाइ छ । भुसालले जग्गा फिर्ता दिन नमानेपछि महतोले अदालतबाट जग्गा रोक्का त गराउनुभयो तर जग्गा अहिले पनि फिर्ता नभएको महतोको भनाइ छ ।
प्रतिकृया दिनुहोस्