अवैध ओसार पसार र कारोबार हुने आशंकामा सशस्त्र प्रहरीद्वारा सीमामा कडाइ

सुरजपुर । केही महिना यता सीमामा खटिएको सशस्त्र प्रहरीले लागू औषध सेवन तथा अवैध ओसारपसार नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा कडाइ गर्न थालेको हो ।
राज्यलाई दीर्घकालीन असर पार्ने लागू औषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीको सक्रिय परिचालनबाट सीमा इलाकामा नशा सेवन गर्न आउने र ओसारपसार गर्नेहरूको चहलपहल अप्रत्यासित रुपमा कमी हुँदै गएको सीमा इलाकामा बसोबास गर्ने स्थानीयहरु बताउँछन् ।
आज साउन १४ गते सशस्त्र प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं २ फुटाहा इलाकामा भारतबाट नेपाल तर्फ आउदै गरेका एक व्यक्तिलाई अन्दाजी ६ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण सुरजपुर बर्दियाका गणपति, कार्यालय प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले बताउनु भयो।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ लोक नगर बस्ने वर्ष २१ का प्रकाश चौधरी छन् ।
निजको साथबाट सामसुङ कम्पनीको मोबाईल १ थान, सोही कम्पनीको ट्याब १ थान सहित नेपाली रुपैयाँ ३५० पनि बरामद भएको छ ।
सशस्त्र प्रहरीले दुई दिन अघिमात्र सोही इलाका बाट बाँके खजुरा बस्ने वर्ष २४ का गणेश परियारलाई ४१० मिलिग्राम र गत असार ३१ गते जिल्लाको गणेशपुर इलाका बाट बाँसगढी नगरपालिकाका दुई युवा अबराज खा र सिजन पौडेललाई ६७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ सहित पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको थियो ।
प्रतिकृया दिनुहोस्