December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेल र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बन्नु भएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिनु भएको छ।
प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिनु भएको छ।कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री  बन्नु भएको छ। सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुनुहुन्छ।
कांग्रेसको प्रमुख सचेतक  रमेश लेखकले गृह मन्त्रालयको जिम्मा पाउनु भएको छ। नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बन्नु भएको छ।
त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्नु भएको छ। तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ।
कांग्रेसको शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाउनु भएको छ।
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्नु भएको छ। मधेशबाट राजकुमार गुप्ताको गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बन्नु भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बन्नु  भएको छ । भण्डारी र अधिकारी  पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा हुनु हुन्थ्यो।
त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ।
यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्नु भएको छ।
जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्नु भएको छ।