December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै

समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै

गुलरिया। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखाएको हो । प्रतिवेदनले स्वास्थ्य क्षेत्रका कतिपय क्षेत्रहरु भने अझै स्थिर देखिएको जनाएको छ ।
सर्वेक्षणले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको उल्लेख छ। यसैगरी नेपाली महिलाहरूले  मातृ स्वास्थ्य सेवा लिने क्रम बढेको तथ्यांकले देखाएको छ ।
यसैगरी ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मीहरूबाट बच्चा पाउनु अघिका जाँचहरू गराउने गरेको पाइएको छ । जबकि सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षणले २५ प्रतिशत महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरूबाट गर्भवती सेवा प्राप्त गरेका थिए ।
त्यस्तै ७३ प्रतिशत गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराउने गरेको पाइएको छ । जुन आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्त्वपूर्ण समय हो ।
८१ प्रतिशत गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तीमा चार पटक गर्भवती सेवा प्राप्त गरेका छन् । सन् १९९६ मा ८ प्रतिशत जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने २०२२ को सर्वेक्षण अनुसार ७९ प्रतिशत देखाएको हो।
त्यस्तै जन्मेपछि नवजात शिशुहरूलाई दुई दिन भित्र थप स्वास्थ्य जाँच गराइएको पाइएको छ । यसैगरी नेपालमा आधा भन्दा बढी ५७ प्रतिशत विवाहित महिलाहरूले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने गरेको देखिएको छ । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । त्यस्तै १५ प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ ।
महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधिहरू नेपालमा सबै भन्दा बढी प्रयोग भएको पाइएको छ ।
तथ्याङ्क अनुसार नेपालले कूल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ । विगत साढे दुई दशकमा नेपालमा प्रजननदर आधाले घटेको देखिन्छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चा जन्माउथे भने सन् २०२२ मा प्रति महिलाले २.१ बच्चाहरू मात्र जन्माउँछन् ।
पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गरेको थियो । भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १,००० जीवित जन्ममा ३३ पुगेको छ ।
दीर्घकालीन कुपोषणको एउटा सङ्केत पुड्कोपन वा उमेर अनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको देखिएको छ ।
महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्रयासहरू थप बढाउन आवश्यक रहेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताउनु भयाे।
२०२२ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण नेपालमा सन् १९९६ पछि गरिएको छैटौँ जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो ।  नेपालीहरूको स्वास्थ्य स्थिति र सेवाको उपयोगलाई गहिरो रूपमा बुझ्न २६ वर्ष सम्मको तुलनात्मक  तथ्यांक समेटिएको पौडेलको भनाइ छ ।