बर्दियाको ठाकुद्वारामा राष्ट्रिय बाघ कार्यशाला सुरु
ठाकुरद्वारा । बाघ संरक्षण क्षेत्र वरपर बसोबास गर्ने मानिसहरूको मानव कल्याण कायम राख्दै बाघको दीर्घकालीन निरन्तरता सुरक्षित गर्नका लागि बर्दियाको ठाकुद्वारामा राष्ट्रिय बाघ कार्यशाला सुरु भएको छ।
नीति निर्माता, प्रबन्धकहरू र अन्य सरोकारवालाहरूलाई चुनौतीहरू र अवसरहरूबारे छलफल गर्न र प्रतिक्रिया प्रदान गर्नु कार्यशालाको मुख्य उद्देश्य राखेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनु भयाे।
नेपालले जंगली बाघको संख्या दोब्बर बनाउने लक्ष्य हासिल गरेको छ । बासस्थान सुधार गर्न, चोरी शिकार र व्यापार नियन्त्रण गर्न र संरक्षणमा सरोकारवालाहरूलाई संलग्न गराउने हाम्रो संयुक्त प्रयासका कारण यो सम्भव भएको ठाकुरद्वारा नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयाे।
मानव-बाघ द्वन्द्वको व्यवस्थापन गर्दै बाघको बढ्दो जनसंख्यालाई कायम राख्न रणनीतिक हस्तक्षेपहरू तुरुन्तै आवश्यक रहेको नगरप्रमुख लम्सालको भनाई छ ।
राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले महत्त्वपूर्ण रूपमा, स्थानीय समुदायको समर्थन र संलग्नतामा देशमा बाघको जनसंख्या पुन: प्राप्ति भएको बताउँदै बढेको बाघको दिगो संरक्षण र समस्याग्रस्त बाघको दिगो व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भयो। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि पीडित परिवारलाई आश्रीत कार्यक्रम ल्याउनु पर्नेमा उँहाको जोड़ छ।
बर्दिया राष्ट्रिय निकुञ्जको महानिर्देशक डा. ढकालले राहत सँगसँगै बीमा योजना लागू गर्नुपर्नेमा जोड दिनु भयो ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो।
वन मंत्रालयका सह सचिव डा. रामचन्द्र कँडेलले बाघको आक्रमण हुन सक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको ट्रेकिङ गर्न जरुरी रहेको बताउनु भयो।
आईतबारसम्म चल्ने कार्यशालामा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश कुमार थापाले जैविक मार्ग संरक्षणमा सरकारले बजेट नपठाउँदा समस्या आउने गरेको बताउनु भयो। उहाँले राष्ट्रिय निकुञ्जलाई प्राप्त हुने बजेटको केही रकम नियमित रूपमा संरक्षित क्षेत्रलाई छुटाउनु पर्ने बताउनु भयो।
संरक्षित क्षेत्र बाहिर बाघहरूको लागि पर्याप्त संरक्षण, शिकारको घनत्व, विशेष गरी ठूला प्रजातिहरू, संरक्षण परिदृश्यको उत्पादकता र गुणस्तर कायम राख्ने, र मानव-बाघ सह-अस्तित्वको लागि व्यवस्थापन बाघ संरक्षणका लागि प्रमुख चुनौतीहरू रहेको नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका कोषाध्यक्ष, संरक्षणविद् यम नाथ घिमिरेको भनाई छ।
राष्ट्रिय बाघ कार्यशालाले सरकार, नीति निर्माता, वैज्ञानिक समुदाय, प्रबन्धक, मिडिया र स्थानीय समुदाय लगायतका सरोकारवालाहरूलाई उपलब्धि र सिकाइहरू छलफल गर्न र नेपालमा बाघ संरक्षणको भविष्यको कल्पना गर्न एकसाथ ल्याउने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रविन कडरियाले बताउनु भयो।
कार्यशाला गोष्ठीमा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारी लगायत सहभागी हुनु हुन्छ।
समग्रमा कार्यशालाले बाघ संरक्षण र व्यवस्थापनमा सुधारका लागि व्यावहारिक समाधान र रणनीतिहरूको बारेमा छलफल र विकास गर्नेछ। यसले बाघ संरक्षण कार्य योजनाहरूमा योगदान पुर्याउनुका साथै नवीन संरक्षण प्रविधिहरू लागू गर्न, कानून प्रवर्तन सुधार गर्न र सामुदायिक संलग्नता र सचेतनालाई बढावा दिन सक्ने अनुमान छ।
विश्व बाघ दिवस २९ जुलाई २०२३ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणना २०२२ को नतिजा अनुसार अहिले नेपालमा बाघको संख्या ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।
प्रतिकृया दिनुहोस्