विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो
गुलरिया। मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम भएका छन्। दिवसको अवसरमा बर्दिया अस्पताल गुलरियाका ३५ जना बिरामीहरूलाई नेपाल- भारत मैत्री संघ बर्दियाले फलफूल वितरण गरेको छ। फलफूल वितरण कार्यक्रममा बर्दिया अस्पतालका सर्जन डा. विजय उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरे, गुलरिया ७का वडा अध्यक्ष मनोज यादव, नेपाल – भारत मैत्री संघ बर्दियाका अध्यक्ष धनेश यादव, उपाध्यक्ष काशीराम थारू, सदस्यहरु निर्मल शाह, श्रीकृष्ण थारू लगायतको सहभागिता थियो।
काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा भारतको ७४ औं गणतन्त्र दिवस मनाएको हो । अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।
त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो।
दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गर्छ ।
प्रतिकृया दिनुहोस्