December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

गुलरिया । बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयाे।
यसैगरी राजापुर—७ बाजुरेली टोलमा डुबान हुँदा तीस घरका मानिसलाई सुरक्षित सामुदायिक वनमा आश्रय लिएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले नजिकको सामुदायिक वनको भवनमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताउनु भयो ।
गेरुवा गाउँपालिका—३ सनकटीघाटमा कर्णाली नदी कटानले व्यापक क्षति पुर्‍याउन थालेको छ । पहाडी भूभागमा पानी परिरहेको छ । नदी र खोला बढी रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा माछा मार्ने र काठ ओसार्न नजान सबैलाई आग्रह गरिएको प्रजिअ बास्तोलाले बताउनु भयो।
यसैबीच लगातारको वर्षाले बबई नदी र कर्णालीमा सतर्कता तहमाथि पानी बगिरहेको छ । बबईमा ६ दशमलव ४ मिटरमाथि पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६ दशमलव १० पुग्नासाथ बाढी पस्ने गर्छ । कर्णाली नदीमा ९ दशमलव ७५ मिटर माथि पानी बगिरहेको छ । कर्णालीमा ११ मिटर पानी बगे बाढी पस्ने गरेको छ । (कान्तिपुरबाट)