बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो
बैदी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको बबई सिचाइ आयोजना निर्माण पछि अहिले स्थानीय बासिन्दाहरुमा खुसियाली छाएको छ । बबई नदीको साईफन निर्माण पश्चात मुल नहर मार्फत पानी सिचाई हुन थाले पछि अहिले गाउँहरु र खेतहरुमा हरियाली छाएको छ भने घर छेउँमा निर्माण भएको नहरले आफुहरुले सुख पाएको कृषकहरु बताउछन् । पहिला पहिला स्थानिय कृषकहरु हप्तौ लगाएर बबई नदीमा अस्थाई प्रकारको झाला पाता प्रयोग गरि बाध बाधेर पानि सिचाई गर्ने गरेका थिए तर अहिले बबई सिचाईले नहर स्थापना गरेका कारण स्थानीयलाई सवै कष्ट हटेको छ। नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जलस्रोत तथा सिंचाइ विभाग अन्र्तगतको राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजना बैदीले ३६ हजार हेक्टर मध्ये जिल्लाको करिव २३हजार ६सय हेक्टर सिंचित क्षेत्रमा पानी पुर्याएको छ । आ.व.२०६९/०७० मा राष्ट्रिय गौरवको आयोजनाको मान्यता पाएको नेपालको आफनै बजेटबाट संचालित बबई सिँचाइ आयोजनाले बर्दियामा कृषि उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको छ।
बर्दिया जिल्लाको कृषियोग्य भूमीमा कृषि उत्पादकत्वमा योगदान पुग्ने गरी वर्षभरि दिगो एंव भरपर्दो सिंचाइ सुबिधा पुर्याउने दृष्टिकोणका साथ बर्दिया जिल्लाको ३६हजार हेक्टर सिंचाइ योग्य जमिनमा बाह्रै महिना सिंचाइ सुबिधा पुर्याउने लक्ष्य लिएको राष्ट्रिय गौरवको आयोजनामा किसानको हितमा छिटोछरितो, प्रभावकारी र गुणस्तरीय रूपमा नहर निर्माण र नदी नियन्त्रको काम भइरहेको छ।
आयोजनाको करिब ८०.२८ किलोमिटर मूल नहर निर्माण, हेडवक्र्स एक, २५.२५ किलोमिटर नदी नियन्त्रण र दुई सय ३५.६३ किलोमिटर शाखा, उपशाखा र प्रशाखा नहर निर्माण २५.२५ किलोमिटर बाढीबाट क्षतिग्रस्त तथा क्षेत्र तथा संरचना निर्माण कार्य सम्पन्न भएको बबई सिचाइ आयोजनाका कार्यालय प्रमुख, निर्देशक नवीन चन्द्र अधिकारीले बताउनु भयो।
बबई सिँचाइ आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ६२.२३ प्रतिशत र समष्टिगत वित्तीय प्रगति ५८.८४ प्रतिशत पुगेको सि.डि.ई.सूचना अधिकारी रामकृष्ण घोरासैनीले बताउनु भयो।
२०४५ सालबाट शुरु भएको बबई सिचाइ आयोजनाको आर्थिक बर्ष २०७८।०७९ सम्मको समष्टिगत खर्च रकम रु ११ अर्ब १५करोड ७९ लाख पुगेको छ । बबई सिँचाइ आयोजनाको राम्रो रहेको लेखा प्रमुख उपसचिव हिरण्य प्रसाद पराजुलीले बताउनु भयो । आयोजनाको आव २०७८/७९ मा भौतिक प्रगति ८५.६५ प्रतिशत र वित्तीय प्रगति ९८.४७ प्रतिशत बराबर रहेको छ ।
आयोजना अन्र्तगत मूल नहर निर्माण तथा लाइनिङ कार्य १२ किलोमिटर, शाखा, उपशाखा नहर १०४ किलोमिटर सिँचित क्षेत्र विस्तार १२ हजार ४०० हेक्टर र जग्गा अधिग्रहण गर्न १५४ हेक्टर बाँकी रहेको छ । २०८० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा उक्त अवधिमा निर्माण सम्पन्न गर्न नसकिने हुँदा २०८३ भित्र सम्पन्न गर्न नयाँ गुरुयोजना स्वीकृत भएको छ ।
बबई नदीको पानीवाट पूर्व तर्फः २१,००० हे. र पश्चिम तर्फः १५,००० हे.गरि कमाण्ड क्षेत्रका बर्दिया जिल्लाका कृषकहरुको ३६,००० हे.जमिनमा सिंचाइ सुविधा पुर्याउने बबई सिचाइ आयोजनाको उद्देश्य रहेको छ।
बबई नदी पूर्व तर्फ बारबर्दिया, बाँसगढी, गुलरिया न.पा. (साविक मोहम्मदपुर गा.वि.स.) र बढैयाताल गाउँपालिका क्षेत्र तथा बबई नदी पश्चिम तर्फः ठाकुरबाबा न.पा. (साविक बबई न.पा. र शिवपुर गा.वि.स.), मधुवन न.पा. (साविक सानोश्रीताराताल न.पा., ढोढरी, सुर्यपटुवा गा.वि.स.) र गुलरिया क्षेत्रमा बबई सिचाई आयोजनाले सेवा प्रदान गर्दे आएको निर्देशक अधिकारीले बताउनु भयो । आयोजनाले नहर संचालन, नहर निर्माण, संरचना निर्माण, सर्भेक्षण आदि प्रकारका सेवा प्रदान गर्दे आएको छ ।
बबई नदीमा पानी कम हुँदा राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको नहरमा पनि पर्याप्त पानी नहुँदा पालैपालो किसानलाई खेतमा सिँचाइ गर्ने प्रबन्ध मिलाइएको छ । आयोजनाले पर्याप्त वर्षा नभएकाले र बबई नदीमा पानी कम भएकाले आलोपालो गरेर नहरको पानी मार्फत किसानले खतेबारीमा पानी सिचाई गरेका छन् । भेरी बबई डाइभर्सनको काम पूरा गरि भेरीको पानी बबई नदीमा खसाउन सके बबइ सिंचाई आयोजनाबाट किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुग्ने सुचना अधिकारी घोरासैनीले बताउनु भयो।
आयोजना अन्तर्गत मूल नहर, शाखा नहर निर्माणका लागि हालसम्म ३६० हेक्टर जग्गा अधिग्रहण गरि मुआब्जा समेत प्रदान गरिएको छ ।
निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बबई सिचाई आयोजनाको प्रगति प्रभावकारी हुन सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ ।
प्रतिकृया दिनुहोस्