January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

लुम्बिनी सरकारले एक वर्षमा गरेका प्रगतिको ५२ बुँदे सूची सार्वजनिक

लुम्बिनी सरकारले एक वर्षमा गरेका प्रगतिको ५२ बुँदे सूची सार्वजनिक

बुटवल । लुम्बिनी प्रदेश सरकारले एक वर्षमा गरेका प्रगतिको ५२ बुँदे सूची सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी गठबन्धन सरकारले गरेका काम सार्वजनिक गरेको हो । प्रगतिमा वार्षिक कार्यक्रम कार्यान्वयन, जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तालिम तथा गोष्ठी सञ्चालनदेखि कर्मचारीहरुको सांगठनिक संरचना निर्माणलगायतलाई महत्त्वपूर्ण प्रगतिका रुपमा राखिएको छ । २०७८ साउन २८ मा एमालेका शंकर पोखरेलको स्थानमा पाँचदलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्नु भएको थियो।
प्रदेश सरकारको प्रगतिमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएकोलाई मुख्य बुँदामा राखिएको छ ।  दोस्रोमा प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत ४ वटा प्रदेश गौरवका आयोजनाको रुपमा राप्तीन उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वाविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा गरिएको बताइएको छ ।
यस्तै, प्रदेश राजधानी निर्माणका लागि गुरु योजना तयार भई कार्यान्वयनमा आएको; राजधानी व्यवस्थापनका लागि ल्यान्ड पुलिङको कार्य अगाडि बढाइएको; राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको सरकारको प्रगति विवरणमा उल्लेख छ । प्रदेशको राजधानी राप्ती उपत्यकाको लालमटियामा प्रदेश सभा भवन निर्माण भएको, राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य सुरु भइसकेको समेत सरकारले बताएको छ ।  यसबाहेक लुम्बिनी प्राविधिक विश्वाविद्यालय स्थापनाका लागि ऐन-नियम‚ कानुनको तर्जुमा गरी उपकुलपतिको नियुक्ति गरिएको लगायतका कामको विवरण प्रगति विवरणमा बताइएको छ । विवरणमा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५दशमलव ३६५ र प्रतिव्यक्ति आय ११०३ यूएस डलर पुगेको बताइएको छ ।