नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २ हप्तामा १६ को निधन
गुलरिया । नेपालमा कोरोना संक्रमण फेरि बढेकोले जनस्वास्थ्यविद्हरुले कोरोना विरुद्धको खोप अनिवार्य रूपमा लगाउन, मास्क लगाउन र लक्षण देखिए आइसोलेसनमा बस्न सुझाव दिएका छन्।
नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । साउन १ गते यता २ हप्तामा १६ को मृत्यु भएको छ। सोमबार एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ र एक जनाको मृत्यु भएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
साउन १ देखि १६ गतेसम्म ७ हजार ९२३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । साउन १ गते संक्रमण दर ४.४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५.१४ प्रतिशत पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमित ४ हजार ९३४ जना रहेका छन् जसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् ।
यो दुई हप्तामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएका छन् । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो ।
जनस्वास्थ्य विज्ञ डा. विन्ज्वला श्रेष्ठले जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमणबाट बच्न र बचाउन सकिने बताउँनुहुन्छ । ‘कम्तीमा मास्क लगाऔँ । लक्षण देखिए आइसोलेसनमा बसौँ।’ उहाले खोप नलगाएकाले अनिवार्य खोप लगाउन आग्रह गर्नु भयो । ‘पक्कै पनि खोप नलगाएको र बढी उमेर भएकालाई जटिल बनाउन सक्छ कोरोनाले । सरकारले खोप अभियानमा पनि व्यापकता लगाउन जरुरी देखिन्छ,’उहाले भन्नु भयो।
प्रतिकृया दिनुहोस्