December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ। सन् २०१८ को गणनामा बाघको संख्या ८७ थियो। यो सँगै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्नु भएको हो । बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।
चितवनमा राष्ट्रिय निकुञ्जमा  १२८ वटा बाघ छन् ।  बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।
बाघ गणनाका लागि चितवन-पर्सा, बाँके-बर्दिया र शुक्ला-लालझाडी-जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ ‘ले निर्दिष्ट गरे अनुसार ‘क्यामेरा ट्रायापिङ’ र ‘अकुपेन्सी सर्भे विधि’ अपनाएर गरेको थियो ।
नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो । सन् २०१० नेपालमा १२१ बाघ थिए, सन‍् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २३५ पुगेका थिए । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।
नेपाल बाहेक भारत, चीन, भुटान, रुस, ब‌ंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।
नेपालमा बाघको सं‌ख्या बढेसँगै यिनको व्यवस्थापन,मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण,बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा,निहुरो टिप्‍न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल जाने वातावरणा नबनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यकता देखिएको छ ।
बाघको संख्या दोब्बरभएसँगै सरकारले बाघ विशेष कार्यक्रम पनि ल्याउने तयारी गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु भयो।